प्रकाश सिग्देल,USA
पढ्न लाग्ने समय २ मिनेट,
आधुनिक समाजमा हुर्किएका धेरैले आफ्नी अर्धाङ्गिनीलाई ‘श्रीमती’ भनेर सम्बोधन गर्ने चलन बिस्तारै छाड्दै गएका छन्। नेपालका दुर्गम पहाडी भेगमा श्रीमान्ले आफ्नी जीवनसाथीलाई ‘श्रीमती’ भनेर बोलाउने संस्कार अझै कतैकतै सुनिए पनि, समग्र नेपाली समाजमा यो शब्द प्रयोग क्रमशः हराउँदै गएको देखिन्छ। नयाँ पुस्ता, विशेषतः विदेशमा हुर्किएका नेपालीहरूका लागि त ‘श्रीमती’ शब्द नै नौलो जस्तो लाग्न सक्छ। तर, पछिल्लो समय अमेरिकाको मेरिल्याण्डमा भने ‘श्रीमती’ शब्द रैथाने बन्ला जस्तो भै सकेको छ ।
मेरिल्याण्डमा रहेका नेपाली साहित्यकार तीर्थराज पाण्डेयलाई भेट्नेबित्तिकै मानिसहरूले सोध्ने पहिलो प्रश्न हुन्छ— “श्रीमतीको के हाल छ, सर?” पाण्डेय मुस्कुराउँदै जवाफ दिनुहुन्छ— “गज्जब छ।” नेपाली शब्दकोशमा गहिरो अर्थ बोकेको ‘श्रीमती’ शब्दलाई फेरि जनजिब्रोमा ल्याउने काम पाण्डेयले सहज र प्रभावशाली ढंगले गर्नुभएको छ।
यसको मुख्य कारण हो— उहाँको चर्चित उपन्यास ‘श्रीमती’।
नेपालको सुदूरपश्चिमी ग्रामीण परिवेश र त्यहाँको सामाजिक यथार्थलाई जीवन्त रूपमा चित्रण गर्दै लेखिएको यो उपन्यासले अहिले व्यापक चर्चा बटुलिरहेको छ। विवाह गरेर घर भित्र्याइएकी एक युवती र उनले जीवनसाथीसँग भोग्ने बहुआयामिक संघर्षहरूमा केन्द्रित यो कृतिले नेपाली नारीको मर्मलाई गहिराइबाट प्रस्तुत गर्छ।
पाण्डेयले ‘श्रीमती’ लाई केवल सम्बोधनका रूपमा होइन, शक्ति र सृष्टिको आधारका रूपमा व्याख्या गर्नुभएको छ। फरक परिवेशमा हुर्किएकी एक नारी जब नयाँ घरमा प्रवेश गर्छिन्, उनको मनमा उब्जिने जिज्ञासा, जिम्मेवारीबोध र भावनात्मक उतारचढावलाई उपन्यासले विभिन्न कोणबाट उजागर गर्छ।
उपन्यासमा जीवनका विविध पात्रहरूका अनुभव, विदेश बसाइँका चुनौतीहरू, र सामाजिक विसंगतिहरूलाई समेत समेटिएको छ। परदेशमा झेल्नुपर्ने कठिनाइदेखि लिएर पारिवारिक सम्बन्धमा आउने दरारसम्मका प्रसंगहरू कथामा सशक्त रूपमा प्रस्तुत छन्। साथै, जटिल परिस्थितिहरू—जस्तै गम्भीर रोगका बेला पनि—एउटी श्रीमतीले आफ्ना जीवनसाथीप्रति देखाउने माया, समर्पण र धैर्यलाई लेखकले अत्यन्त संवेदनशील ढंगले चित्रण गर्नुभएको छ।
पुस्तक पढ्दै जाँदा कतैकतै धार्मिक ग्रन्थ पढिरहेको अनुभूति दिलाए पनि यसको मूल कथा सुदूरपश्चिम र परदेशको संघर्षमा ‘श्रीमती’ को भूमिकामै केन्द्रित छ।“यो उपन्यास पढ्दा लाग्छ—श्रीमती केवल व्यक्ति होइन, एउटा शक्ति हो।”श्रीमती’ केवल शब्द होइन—नेपाली समाजको संवेदनशील आत्मा हो, जसलाई फेरि सम्झाउने प्रयास हो यो कृति।” उपन्यासका मुख्य पात्र वितुर र धिमही हुन्, जसको जीवनयात्रा सुदूरपश्चिमदेखि कोरिया, जापान हुँदै अमेरिका पुग्छ। उनीहरूबीचको विश्वास, सहकार्य र संघर्षमार्फत सफलता हासिल गर्ने कथा निकै प्रेरणादायी ढंगले प्रस्तुत गरिएको छ। यसमा श्रीमान श्रीमतीमा हुनुपर्ने सम्बन्धको सुत्र ,पूर्ण परिवारको परिकल्पना छ। अमेरिकामा बढ़्दो पारबारिक असमझदारीले निमत्याउने सम्बन्ध बित्क्षेदका घटना , नारी जातीमाथि हुने अन्याए । सबै बिषयलाई जिवन्त रुपमा चित्रण गरिएको पाईन्छ ।
मातृशक्तिहरुलाई प्रकृतिसंग जोडेर र समुन्नत परिवारका लागी श्रीमतीको महानता र सान्दर्भिकता यसमा दर्साउन खोजिएको छ । यसमा छोरी, आमा, बुहारी र श्रीमतीको रुपमा मातृशक्तिहरुलाई उल्यख गर्न खोजिएको छ । ‘श्रीमती’ उपन्यासले नेपाली समाजमा नारीको भूमिकामाथि गहिरो बहस सिर्जना गरेको छ।अमेरिका मेरिल्याड राज्य सासंद डा ह्यारी भण्डारीले नेपाली साहित्यको संरक्षण र प्रर्वधनमा अमेरिकामा रहेर पनि तीर्थराज पाण्डेयको भुमिका अतुलनिय भएको तर्क गर्नु हुन्छ ।
लेखक तीर्थराज पाण्डेय अमेरिकामा बसेर नेपाली डायस्पोराको सांस्कृतिक पहिचान र प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। करिब २२० पृष्ठको यो सामाजिक उपन्यास केही समयअघि कोलोराडोमा सम्पन्न ‘नवौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ का अवसरमा भव्य रूपमा विमोचन गरिएको थियो।
बिभिन्न समारोहमा सहभागी साहित्यकारहरू— शकुन ज्ञवाली, प्रमिला निर्दोषी, डा. पुष्पा शर्मा, भारती गौतम, सन्ध्या पहाडी, सीता पाण्डे, माया गुरुङ, डा. सङ्गीता स्वेच्छा, डा. नीलम कार्की ‘निहारिका’ र डा. नवराज लम्साल लगायतले ‘श्रीमती’ उपन्यासले नेपाली समाजको गहिरो सांस्कृतिक र सामाजिक पक्षलाई समेटेको टिप्पणी गरेका थिए।
पाण्डेयलाई नेपाल सरकारले राष्ट्रिय सम्मान प्रदान गरिसकेको छ भने सन् २०२३ मा अमेरिकाका राष्ट्रपतिबाट ‘लाइफटाइम एचिभमेन्ट गोल्ड मेडल अवार्ड’ बाट समेत सम्मानित गरिएको थियो। उहाँका अन्य कृतिहरूमा ‘आमाको सपना’ (खण्डकाव्य), ‘सविता’ (खण्डकाव्य) र ‘चिरायु’ (उपन्यास) प्रकाशित भइसकेका छन्।


