अमेरिकाका लागि नेपाली राजदूतमा चिरनजंग थापाको नाम सिफारिस/ यस्तो छ उहाँको योग्यता

SHARE:

प्रकाश सिग्देल, अमेरिका,पढ्न लाग्ने समय : २ मिनेट

सरकारले संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतमा चिरनजंग थापाको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत सिफारिस गर्ने क्रममा अमेरिकाका लागि थापाको नाम अघि सारेको हो। सरकारी निकाय, नेपाली सुरक्षा संयन्त्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा कूटनीतिक क्षेत्रमा अनुभव भएका थापा सुरक्षा नीति, संकट व्यवस्थापन तथा अन्तर्राष्ट्रिय कूटनीतिमा दुई दशकभन्दा बढी अनुभव भएका  सुरक्षा मामिलाका जानकारका रूपमा परिचित हुनुहुन्छ ।   थापाले अमेरिकाको प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयअन्तर्गत स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्स (SIPA) बाट पूर्ण छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गर्नु भएको छ । उहाले  त्यसअघि SUNY Geneseo बाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गर्नुभएको हो।  अमेरिकाको हार्वर्ड केनेडी स्कुलको ‘लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पनि पूरा गर्नुभएको छ । थापा उक्त कार्यक्रम पूरा गर्ने  पहिलो गैरसैनिक नेपाली भएको विवरणमा उल्लेख छ।  थापा सन् २०१७ देखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत हुनुहुन्छ । उक्त भूमिकामा उहाले एसियाका १५ देशमा जोखिम तथा संकट व्यवस्थापनसम्बन्धी कामको नेतृत्व गरेको विवरणमा उल्लेख छ।

यसअघि उहाले सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकार (२०१३–२०१६) र द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र/नागरिक–सैन्य सम्बन्ध सल्लाहकार (२०१०–२०१३) का रूपमा काम गर्नुभएको थियो । सो क्रममा उहाले नेपालको रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीलाई परामर्श दिनुका साथै नेपाली सेनाको पहिलो नागरिक–सैन्य सम्बन्ध पाठ्यक्रम तयार पार्नुभएको थियो ।  

आफ्नो करियरको सुरुवाती चरणमा  न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि सिंगापुर र नेपालका स्थायी नियोगहरूमा काम गर्नुभएको हो ।  उहा हार्वर्ड केनेडी स्कुलको ’लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पूरा गर्ने पहिलो गैर–सैनिक नेपाली र दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गर्ने पहिलो व्यक्ति  हो। उहालाई भारतीय सेनाले सन् २०२३ को ‘चाणक्य डिफेन्स डाइलग’मा नेपालका तर्फबाट प्रमुख वक्ताका रूपमा आमन्त्रण गरेको थियो। उहासँग नेपाल, अमेरिका, बेलायत र दक्षिण तथा दक्षिणपूर्वी एसियाका धेरै मुलुकहरूमा काम गरेको अनुभव छ।

अब अमेरिकाका लागि कूटनीतिक जिम्मेवारी

सरकारले अमेरिकाका लागि राजदूतमा नाम सिफारिस गरेसँगै थापाको सुरक्षा नीति, संकट व्यवस्थापन, नागरिक–सैन्य सम्बन्ध र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी अनुभव कूटनीतिक भूमिकासँग जोडिने भएको छ।  मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ र सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त गर्ने प्रक्रिया पूरा हुन बाँकी छ। यी प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट