US Chautari डेक्स USA,
पढ्न लाग्ने समय : १ मिनेट,
नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–६ अन्तर्गत पर्ने घाँगीभीर क्षेत्रमा अहिले असामान्य र चिन्ताजनक अवस्था देखिएको छ। जमिनमुनिबाट निरन्तर धुवाँ निस्किरहेको छ भने केही स्थानमा आगोसमेत देखिएको छ। स्थानीय बासिन्दाहरूका अनुसार प्रभावित क्षेत्रमा जमिन अत्यधिक तातो भएको छ, जसका कारण वरिपरिका घाँस, पातपतिङ्गर र साना बोटबिरुवासमेत डढ्ने अवस्था सिर्जना भएको छ। विशेषगरी यो क्षेत्र फलाम खानीको रूपमा चिनिँदै आएको छ। विज्ञहरूका अनुसार यस्ता खानी क्षेत्रमा पाइने पाइराइट (FeS₂) लगायतका सल्फाइड खनिजहरू हावासँग प्रतिक्रिया गर्दा ताप उत्पन्न हुन्छ। यो प्रक्रिया निरन्तर बढ्दै जाँदा जमिनभित्रै “Underground Mineral Fire” सुरु हुन सक्छ। यस्तो भूमिगत आगो सतहबाट देखिन नसक्ने गरी भित्रै फैलिन सक्छ र लामो समयसम्म बलिरहन सक्छ। यही कारणले जमिन चर्किनु, धुवाँ निस्किनु र कतिपय स्थानमा आगो बाहिर देखिनुजस्ता लक्षण देखिन्छन्।
यस घटनासँगै केही गम्भीर जोखिमहरू पनि देखिन सक्छन् । जमिन भित्रै खोक्रो भइसकेको हुनसक्ने भएकाले कुनै पनि बेला धसिन सक्ने खतरा, विषालु ग्यासहरू जस्तै कार्बन मोनोअक्साइड वा सल्फर डाइअक्साइड निस्कने सम्भावना, र आगो विस्तार भएर नजिकैका वन क्षेत्र वा बस्तीमा पुग्न सक्ने जोखिमरहन सक्छ । स्थानिय सरकारले स्थानीयवासीलाई प्रभावित क्षेत्रमा नजान, आगो नछुन र सतर्क रहन आग्रह गर्नु आवस्यक छ । सम्बन्धित निकाय,खानी तथा भू-गर्भ विभाग, स्थानीय प्रशासन र सुरक्षाकर्मी त्यस स्थानमा पुगेर निरिक्षण समेत गरिसकेका छन् तर उनिहरुले कारण एकिन गर्न अध्ययन भईरहेको बताएका छन् । यो घटना केवल स्थानीय समस्या मात्र नभई वैज्ञानिक र वातावरणीय दृष्टिले पनि महत्वपूर्ण भएकोले यसको विस्तृत अनुसन्धान आवश्यक देखिएको छ।


