मकवानपुरमा गत आर्थिक वर्षमा भएका दुर्घटनामा ५० जनाले गुमाए ज्यान

SHARE:

मकवानपुर, ६ साउन ।

मकवानपुरमा गत आर्थिक वर्ष २०८१/०८२ मा भएका दुर्घटनामा ५० जनाको ज्यान गएको छ । गत वर्ष ४०७ वटा दुर्घटनामा ५० जनाकाे मृत्यु भएकाे, १६३ जना गम्भीर घाइते तथा ८०२ जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

गत आर्थिक वर्षमा १ हजार ७५ वटा मुद्धामा ९२८ जना अभियुक्त पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयकाे तथ्याङमा छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरुले अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, अवैध कारोबार नियन्त्रण, फैसला कार्यान्वयन तथा ट्राफिक व्यवस्थापनका अभियान अन्तर्गत उनीहरुलाई पक्राउ गरिएको हो ।

लागु औषध सम्बन्धी १८८ वटा मुद्धामा २८९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार पक्राउ परेका मध्ये २७६ जना नेपाली नागरिक तथा १३ जना विदेशी नागरिक रहेका छन् । सो अवधिमा प्रहरीले ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५ हजार २७१ थान ट्रामाडोल तथा नाइट्राभेटर ट्याबलेट÷क्याप्सुल, २ हजार ७५७ एम्पुल डाईजेपाम, ४७६ ग्राम खैरो हेरोइन बरामद गरेको तथ्याङले बताउँछ । उक्त घटनामा संलग्न ५५ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।

यसैगरी अवैध भन्सार छलि नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १६ करोड १७ लाख ७४ हजार २३ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ । जसमा २ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको लत्ता कपडा तथा खाद्यान्न, ८ किलो ७३५ ग्राम १४३ मिलिग्राम (१२, करोड १७ लाख २७ हजार ५०६ रुपैयाँ) सुन, २ किलो १९६ ग्राम (३ लाख ६६ हजार ५४९ रुपैयाँ) चाँदी, १० थान सवारी साधन (७० लाख ८१ हजार रुपैयाँ) र ६२ लाख ९० हजार ३५ रुपैयाँ बराबरको अवैध मुद्रा समेत नियन्त्रणमा लिइएको उनले बताए । सो अवधिमा सवारी कारवाही ३० हजार ३४ वटा बाट २ करोड ४१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीकाे तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी प्रवक्ता अर्यालका अनुसार उक्त अवधिमा फैसला कार्यान्वयनतर्फ १८३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । सोही अवधिमा १ करोड २१ लाख ७३ हजार ८०५ जरिवाना असुल गरिएको छ भने ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ । यस्तै अवैध गिट्टी–बालुवा उत्खनन् नियन्त्रणतर्फ १९५ वटा कारबाहीहरु गरिएको उनले बताए । जसमा १६२ वटा ट्रयाक्टर, ३१ वटा टिप्पर र २ वटा स्काभेटर संलग्न रहेको उनले जानकारी दिए । उक्त घटनामा संलग्न भएकाबाट ११ लाख १५ हजार ५०० रुपैयाँ बराबरको राजस्व संकलन गरिएको छ ।

गत आर्थिक वर्षकाे अवधिमा मादक पदार्थ सेवन (मापसे)मा ८४४ जना र लागू पदार्थ सेवनमा २१ जनामाथि मुद्दा दर्ता गरिएको छ भने प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिगाहा १४ कठ्ठा अफिमको खेती नष्ट गरेको उनले बताए । यस अभियानमा ४२१ जना प्रहरी परिचालित गरिएको बताइएकाे छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट