रत्ननगर, ५ साउन ।
कवि, कथाकार विश्वनाथ खनाल सम्मानित हुने भएका छन् । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा खनाललाई सम्मान प्रदान गर्न लागिएको हो ।
कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा विविध कार्यक्रम गरी रजत महोत्सव मनाउने जानकारी दिएको छ ।
रजत महोत्सवको औपचारिक सुरुवात साउन ७ गते स्रष्टा सम्मान कार्यक्रममार्फत हुनेछ । रजत महोत्सवको अवसरमा रत्ननगरका साहित्यकार विश्वनाथ खनाललाई २५ हजार रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गरिने प्रिन्सिपल धितालले जानकारी दिए ।
स्रस्टा सम्मानको यो कार्यक्रम कलेजले तीन वर्ष अगाडि नै सुरु गरेको हो । रत्ननगरका अग्रज स्रस्टा रामबाबु घिमिरे र कालिकाका अग्रज स्रस्टा गणेश शर्मा पौडेल चन्दन यो पुरस्कारबाट सम्मानित भैसकेका छन् । स्थानीय स्रस्टालाई प्रोत्साहन एवम् हौसला प्रदानका लागि सम्मान गरिएको प्रिन्सिपल धितालले बताए ।
रजत महोत्सव अन्तर्गत रजत स्तम्भ निर्माण, स्मारिका प्रकाशन, अन्तरविद्यालय चित्रकला प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, च्यारिटी सो, वक्तृत्वकला प्रतियोगिता, विज्ञान प्रदर्शनी, फुड फेस्टिवल जस्ता कार्यक्रम तय गरिएको धितालले जानकारी दिए ।


