पढ्न लाग्ने समय : १ मिनेट,
आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका गणेशले शुक्रबार वीर अस्पतालबाट जीवनको अन्तिम सास फेरेका हुन् । गणेश ‘राइट सेयरिङ’मार्फत यात्रुलाई गन्तव्यमा पुर्याएर जीवन गुजारा चलाइरहेका थिए । आफ्नो मोटरसाइकलमा नगरप्रहरी बलले ह्वील लक गरेपछि उनले बिहीबार आत्मदाह प्रयास गरेका थिए । त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि यात्रुलाई पुर्याएर छोड्न खोज्दा गणेशको मोटरसाइकलमा काठमाडौं महानगरप्रहरी बलको टोलीले ‘ह्वील लक’ लगाएको थियो । नगरप्रहरीको टोलीले गणेशले अवैध स्थानमा पार्किङ गर्दा ह्वील लक लगाएको दाबी गरेको छ । तर, अनुसन्धानका क्रममा यात्रुलाई राहदानी विभागको गेटअघि ‘ड्रप’ गरेर मोटरसाइकलमा सवार अवस्थामै लक लागेको खुलेको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शुशीलसिंह राठौरले मोटरसाइकलमा सवार हुँदा लक लाग्यो वा पैसा साट्न जाँदा पार्क गरे भन्नेबारेमा अनुसन्धान भइरहेको बताए । घटनाको बिरोधमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ । शुक्रबार वीर अस्पताल परिसरमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको हो । आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। बिहीबार महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। सदन र सडक बाट सरकार बिरुद्ध चेतावनी दिन सुरु भएको छ ।

