चीनमा चम्कियो नेपाली सिनेमा  / तेल भिसा’का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित

SHARE:

काठमाडौँ 

पढ्न लाग्ने समय : २ मिनेट

चीनको हुनान प्रान्तस्थित छाङसामा गत अप्रिल १४ देखि १९ सम्म आयोजना गरिएको ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’का उत्कृष्ट विजेताहरूलाई काठमाडौँमा आयोजित भव्य समारोहबीच नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ। कार्यक्रममा नेपाली चलचित्र, स्रष्टा तथा प्राविधिक क्षेत्रका विभिन्न विधामा उत्कृष्ट ठहरिएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो। फेस्टिभलको मूल्याङ्कन समितिका संयोजक डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, विज्ञ तथा फिल्म अध्ययनरत विद्यार्थीहरूको टोलीले गरेको मूल्याङ्कनका आधारमा ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित भएको छ। उक्त चलचित्रले ४ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी, चलचित्र ‘तेल भिसा’का निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशक घोषित हुँदै २ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभयो।‘छक्का पञ्जा’का दीपकराज गिरी उत्कृष्ट अभिनेता तथा ‘कबड्डी ४’की मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित हुँदै जनही १ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नुभयो।प्राविधिकतर्फ ‘महाजात्रा’का पुरुषोत्तम प्रधान उत्कृष्ट छायाकार तथा ‘हस्टेल ३’ उत्कृष्ट सम्पादन विधामा पुरस्कृत भएका छन्। यी विधामा विजेताहरूलाई जनही १ हजार अमेरिकी डलर प्रदान गरिएको आयोजकले जनाएको छ।आयोजकका अनुसार यो प्रारम्भिक चरणको पुरस्कार वितरण हो र आगामी संस्करणहरूमा पुरस्कार राशी तथा नेपाली चलचित्रको अन्तर्राष्ट्रिय सहभागिता अझ विस्तार गरिनेछ।कार्यक्रममा नेपाल–चीन सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो। मुख्य प्रायोजक तथा चिनियाँ व्यवसायी लि हानलाई विशेष सम्मान गरिएको थियो भने चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। त्यस्तै, नेपालतर्फबाट चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र फेस्टिभल अध्यक्ष करुण थापालाई चिनियाँ टोलीले सम्मान गरेको थियो।

समारोहमा बोल्दै फेस्टिभलका संस्थापक अध्यक्ष लि हङ्सुले कला र सिनेमाले भौगोलिक सीमालाई नमान्ने उल्लेख गर्दै नेपाल–चीनबीच सांस्कृतिक सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। फेस्टिभल अध्यक्ष करुण थापाले यस कार्यक्रमले नेपाली चलचित्रलाई चिनियाँ सिनेमा हल तथा ओटीटी प्लेटफर्मसम्म पुर्‍याउने ऐतिहासिक अवसर सिर्जना गरेको बताउनुभयो।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चीनमा नेपाली चलचित्रको ठूलो बजार सम्भावना रहेको उल्लेख गर्दै भविष्यमा अझ व्यापक सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिनेता हरिहर शर्माको आह्वानमा उपस्थित सम्पूर्ण दर्शक तथा चलचित्रकर्मीहरूले उठेर चिनियाँ प्रतिनिधिमण्डलप्रति सम्मान व्यक्त गरेका थिए।समारोहमा चिनियाँ लगानीकर्ताहरूले नेपाली चलचित्रसँग सह-उत्पादनमा लगानी गर्न चासो देखाएका छन्। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधिको प्रयोग गरी निर्माण गरिने चलचित्रहरूलाई चिनियाँ ओटीटी प्लेटफर्ममार्फत प्रदर्शन गर्ने विषयमा समेत सहकार्य अघि बढाउने सहमति भएको जनाइएको छ।उक्त कार्यक्रममा चीनबाट ८ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो, जसमा चर्चित निर्देशक चेन शि–झाङसमेत सहभागी थिए। समारोहमा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट