चितवन, ३१ असार ।
जगतपुर – कसरा – माडी हुलाकी सडक अन्तरगत भरतपुर महानगरपालिका-२३, जगतपुर क्षेत्रको घैलाघारी गेटबाट राप्ती नदी पुलसम्मको बाटो कालोपत्रे कार्य अगाडि बढेको छ ।
सवबेस र बेस राख्ने काम चैत अगावै सकिएपनि अस्फाल्ट (कालोपत्रे) राख्ने काम लामो समयसम्म रोकिएको सो सडकखण्डसहित राप्ती नदीको पुलमाथि सोमबार कालोपत्रे सुरु भएको र मंगलबार आज कार्यसम्पन्न हुने भरतपुर-२३ का वडाध्यक्ष दीपक दवाडीले बताउनुभयो ।
माडी निवासी ठेकदार गणेश पाण्डेको जिएमआरकन्स्ट्रक्सन कम्पनीले केही बिलम्ब गर्दै सो कालोपत्रे कार्य अगाडि बढाएको हो । सो सडकखण्डमा कालोपत्रे पूरा हुँदैगर्दा राप्ती पुलहुँदै यात्रा गर्ने मुख्यतः माडीबासीलाई सहजता हुनेछ ।
राप्ती नदी पारीको सामुदायिक वन क्षेत्रमा कालोपत्रे हुँदैगर्दा निकुञ्जभित्र कसरादेखि बनकट्टासम्मको सडक स्तरोन्नति कार्यमा भने अलमल एवं अनिश्चय कायमै रहेको छ । निकुञ्जको कोर क्षेत्रभित्रको सडक निर्माण कार्य हाल वातावरणीय प्रभाव अध्ययन प्रक्रियामै अड्किएको अवस्था छ ।


