गैंडाकोटको मेयरमा चर्चीत युवा व्यवसायी झलक मल्लको स्वतन्त्र उम्मेदवारी : व्यवसायमैत्री नगर’ बनाउने एजेन्डा सार्वजनिक

SHARE:

US Chautari न्युज डेक्स, अमेरिका

पढ्न लाग्ने समय : १ मिनेट ३० सेकेन्ड,

 गैँडाकोट नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा चर्चीत युवा व्यवसायी झलक मल्लले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका छन्। समृद्ध, सुशासनयुक्त, कानुनी शासनमा आधारित र व्यापारमैत्री गैँडाकोट निर्माण गर्ने प्रतिबद्धतासहित उनी चुनावी मैदानमा उत्रिएका हुन्।

मल्लले आफ्नो चुनावी अभियानमा ‘व्यापारमैत्री सहर’ निर्माणलाई प्रमुख प्राथमिकतामा राखेका छन्। नगरभित्र लगानीको अनुकूल वातावरण सिर्जना गर्ने, स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर विस्तार गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने उनको योजना छ। गैँडाकोटको समृद्धिको आधार व्यापार, उद्यमशीलता र आर्थिक विकास हुनुपर्ने उनको धारणा छ। उनले सार्वजनिक गरेको एजेन्डामा कानुनी शासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रशासनलाई पनि विशेष महत्त्व दिएका छन्। नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी, सहज र जनउत्तरदायी बनाउँदै सुशासन र जवाफदेहितालाई संस्थागत गर्ने उनको प्रतिबद्धता छ।

त्यसैगरी गुणस्तरीय पूर्वाधार निर्माण, सहज यातायात, व्यवस्थित सहरीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन्। स्वच्छ, हरियालीयुक्त र सुन्दर नगर निर्माण गर्दै नागरिकलाई स्वस्थ र सुरक्षित जीवनयापनको वातावरण उपलब्ध गराउने लक्ष्यसमेत उनले अघि सारेका छन्।

मल्ल विगत करिब २० वर्षदेखि गैँडाकोटको पुलचोक आसपास व्यवसाय गर्दै आएका छन्। सानै उमेरदेखि राजनीतिक चेतना र सामाजिक गतिविधिमा रुचि राख्दै आएका उनी गैँडाकोटको स्थानीय समाजसँग लामो समयदेखि परिचित छन्। स्थानीय नागरिक, घरपरिवार र समुदायसँगको सम्बन्धलाई आफ्नो सामाजिक पुँजीका रूपमा लिँदै उनी नगरको नेतृत्वमा नयाँ सोच र कार्यशैली आवश्यक रहेको बताउँछन्।

‘हाम्रो समर्थन, हाम्रो मत–समृद्ध गैँडाकोट’ भन्ने नारासहित चुनावी अभियान अघि बढाएका मल्लले आफू कुनै राजनीतिक दलको प्रतिनिधिभन्दा पनि आम नागरिकको साझा उम्मेदवार बन्न चाहेको बताएका छन्।राजनीतिक दलका उम्मेदवार मात्रै जनताको विकल्प नभएको उल्लेख गर्दै उनले नागरिकले स्वतन्त्र उम्मेदवारलाई पनि अवसर दिनुपर्ने धारणा राखेका छन्। जनताको मत कुनै दलको बन्धक नभएको भन्दै अबको निर्वाचनमा नागरिकले व्यक्ति, क्षमता, योजना र काम गर्ने प्रतिबद्धताका आधारमा नेतृत्व चयन गर्ने उनको विश्वास छ। व्यापारिक अनुभव, स्थानीय समाजसँगको सम्बन्ध र स्वतन्त्र राजनीतिक पहिचानलाई आधार बनाएका मल्लले आफ्नो उम्मेदवारीमार्फत गैँडाकोटको विकासमा नयाँ बहस सुरु गर्न खोजेका छन्।उनको उम्मेदवारीले गैँडाकोटको आगामी स्थानीय राजनीतिक प्रतिस्पर्धामा कस्तो प्रभाव पार्छ र मतदाताले उनको एजेन्डालाई कसरी ग्रहण गर्छन् भन्ने कुरा भने चुनावी अभियान र नागरिकको प्रतिक्रियासँगै स्पष्ट हुँदै जानेछ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट