प्रकाश सिग्देल,USA
पढ्न लाग्ने समय :१ मिनेट,
आजको आधुनिक दुनियाँमा हामी प्रविधि, AI र विज्ञानको कुरा गर्छौं। तर हजारौं वर्षअघि, मानव सभ्यताले एउटा यस्तो शक्ति बुझेको थियो,जसले समाजलाई जोडेर राख्छ, सम्बन्धलाई टिकाउँछ, र नियमभित्र जीवनलाई व्यवस्थित बनाउँछ। त्यो शक्ति हो—अर्यामा देवता, सम्बन्ध, नियम र मानव समाजको अदृश्य शक्ति ।
वैदिक परम्परामा अर्यामा, आदित्यहरू मध्ये एक प्रमुख देवता हुन्। “आदित्य” भन्नाले सामान्यतया Surya (सूर्य) बाट उत्पन्न/सम्बन्धित शक्तिहरूलाई जनाउँछ,अर्यामा र सूर्य: एउटै वैदिक देवसमूहका हुन भनिन्छ । प्राचीन ग्रन्थहरूमा उनलाई केवल देवता मात्र होइन, मानव सम्बन्धको संरक्षक का रूपमा वर्णन गरिएको छ। मित्रता, अतिथि सत्कार, विवाह र सामाजिक अनुशासन,यी सबै क्षेत्रसँग अर्यामा गहिरो रूपमा जोडिएका छन्।
ऋग्वेदमा उल्लेख गरिएअनुसार, अर्यामा त्यस्ता देवता हुन् । जसले मानिसहरूबीचको विश्वास र सहकार्यलाई बलियो बनाउँछन्। समाज टिक्नका लागि केवल शक्ति वा धन पर्याप्त हुँदैन ।आवश्यक हुन्छ विश्वास, सम्बन्ध र नियम। यही तीन आधारको प्रतीक हुन् अर्यामा। चाखलाग्दो कुरा के छ भने, वैदिक विचारमा अर्यामा लाई पितृहरूसँग पनि जोडिन्छ। कतिपय व्याख्यामा उनी मृत्युपछि आत्मालाई मार्ग देखाउने मार्गदर्शकका रूपमा प्रस्तुत गरिन्छन्। यसले देखाउँछ-अर्यामा केवल जीवित संसारमा मात्र होइन, जीवन र मृत्युबीचको पुलका रूपमा पनि बुझिएका छन्।अर्यामालाई सबै गोत्रका गुरुका रुपमा मानिने ऋग्वेदमा उल्लेख छ । बिहे गर्दा गोत्र मिलान गर्ने काम अर्यामाबाटनै हुन्छ भन्ने धार्मिक मान्यता रहेको जानकारहरु बताउछन् ।
आजको सन्दर्भमा हेर्ने हो भने, अर्यामा को अर्थ अझ गहिरो देखिन्छ। डिजिटल युगमा जहाँ सम्बन्धहरू कमजोर हुँदै गएका छन्, विश्वास घट्दै गएको छ,पारिवारिक सम्बन्ध कमजोर भएका छन् ,त्यहाँ अर्यामा जस्ता अवधारणाले हामीलाई सम्झाउँछ । US Chautari को दृष्टिकोणबाट हेर्दा, अर्यामा कुनै पुरानो धार्मिक पात्र मात्र होइनन्। उनी मानव सभ्यताको आधारभूत “सिस्टम”—एक प्रकारको relationship intelligence—को प्रतीक हुन्। सायद यही कारणले वैदिक ऋषिहरूले हजारौं वर्षअघि नै बुझेका थिए। यदि सम्बन्ध टुट्यो भने, समाज पनि टुट्छ। यदि नियम हरायो भने, व्यवस्था पनि हराउँछ।
अर्यामा रिसाउँदा साँच्चै सम्बन्ध बिग्रन्छ ?
वैदिक धार्मिक मान्यतामा अर्यामालाई सामाजिक सम्बन्ध, विवाह र पितृसँग जोडेर व्याख्या गरिएको पाइन्छ। तर अर्यामा अप्रसन्न भएकै कारण परिवारमा कलह उत्पन्न हुन्छ भन्ने विषयलाई वैज्ञानिक तथ्यका रूपमा पुष्टि गर्न सकिँदैन। यसको दार्शनिक अर्थ भने महत्त्वपूर्ण छ। जब परिवारमा विश्वास, मर्यादा, आपसी सम्मान र जिम्मेवारी कमजोर हुन्छन्, तब सम्बन्धमा दरार उत्पन्न हुन सक्छ। अर्यामाको वैदिक अवधारणालाई यही सामाजिक सन्तुलनको प्रतीकका रूपमा पनि बुझ्न सकिन्छ। यस अर्थमा अर्यामाको प्रसन्नता केवल धार्मिक अनुष्ठानसँग होइन, सम्बन्धप्रतिको मानवीय जिम्मेवारीसँग जोडेर व्याख्या गर्न सकिन्छ।


