अमेरिकी राजनीतिमा नहार्ने नेपाली / Dr.Harry Bhandari किन सधैं चर्चामा ? फोटो फिचर

SHARE:

प्रकाश सिग्देल,मेरिल्याण्ड
पढ्न लाग्ने समय : २ मिनेट,

अमेरिका भरि Harry Bhandari को नाम नसुन्ने सायदै कोही होला। अमेरिकामा नेपाली समुदायको हितका लागि अहोरात्र खटिने र समस्याको समाधानमा सक्रिय रहने नेतृत्वका रूपमा उहाँ परिचित हुनुहुन्छ। यही कारणले पनि उहाँको नाम बारम्बार चर्चामा आउने गर्छ।त्यति मात्र होइन, उहाँ अमेरिकामा निर्वाचित हुने पहिलो नेपाली मूलका राज्य सांसद हुनुहुन्छ। मेरिल्याण्ड राज्यको संसदमा दुई कार्यकाल (८ वर्ष) सफलतापूर्वक काम गरिसक्नुभएको छ। साथै, उहाँले दशैंलाई सम्मान गर्दै ‘दशैं बिल’ पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, जसमार्फत नेपालीहरूको महान् पर्वलाई अमेरिकाको कानुनी संरचनाभित्र औपचारिक रूपमा समावेश गर्ने ऐतिहासिक पहल भयो। यसले नेपाली समुदायको पहिचान र संस्कृतिलाई अझ मजबुत बनाएको छ।

यसले गर्दा नेपाली मात्र होइन, एसियाली समुदायका धेरै मानिसहरूले उहाँलाई चिन्छन् र सम्मान गर्छन्। “संसारभरका नेपालीहरू हाम्रा दाजुभाइ हुन्” भन्ने मूल मन्त्रका साथ जहाँसुकै रहेका नेपालीलाई सहयोग गर्न उहाँ सधैं तत्पर रहनुभएको छ।

हाल फेरि सञ्चार माध्यमहरूमा डा. ह्यारी भण्डारीको चर्चा चुलिएको छ। कारण हो—मेरिल्याण्ड राज्य संसद अन्तर्गत डिस्ट्रिक्ट ८ को डेमोक्रेटिक प्राइमरी निर्वाचनमा उहाँले सबैभन्दा बढी मतसहित अग्रता हासिल गर्नु। बहालवाला उम्मेदवारका रूपमा मैदानमा उत्रिनुभएका भण्डारीले उच्च मत प्राप्त गर्दै पहिलो स्थान हासिल गर्नुभएको हो। यद्यपि, सम्पूर्ण मतगणना र औपचारिक घोषणा हुन केही समय लाग्नेछ।

अब उहाँले नोभेम्बरमा हुने अन्तिम निर्वाचनमा रिपब्लिकन उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यदि त्यसमा पनि विजयी हुनुभयो भने उहाँ मेरिल्याण्ड राज्य संसदमा तेस्रो कार्यकालका लागि प्रतिनिधित्व गर्नुहुनेछ।

सन् २०१८ मा पहिलो पटक निर्वाचित हुँदै उहाँले इतिहास रच्नुभएको थियो। शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार तथा श्रमिक वर्गका मुद्दामा निरन्तर आवाज उठाउँदै आउनुभएका भण्डारी समुदायसँगको निरन्तर संवाद र सक्रिय नीति निर्माणका कारण प्रभावशाली नेताका रूपमा स्थापित हुनुभएको छ।

उहाँ भन्नुहुन्छ, “यो मेरो मात्र होइन, सम्पूर्ण समुदायको शक्ति र आप्रवासीहरूको योगदानको परिणाम हो।” नेपाली समुदाय संख्या कम भए पनि स्थानीय जनताको सहयोगले आफू यहाँसम्म आइपुगेको उहाँ बताउनुहुन्छ। आगामी निर्वाचनतर्फ अघि बढ्दै गर्दा जनताको विश्वास अझ बलियो बनाउने प्रतिबद्धता उहाँको छ।

अमेरिकामा नेपाली समुदाय सानो भए पनि तीव्र रूपमा बढिरहेको आप्रवासी समुदाय हो। धेरै नेपालीहरू शिक्षा, अवसर र उज्ज्वल भविष्यको सपना लिएर अमेरिका आएका छन्। भण्डारीका अनुसार, राजनीतिक प्रतिनिधित्वले आगामी पुस्ताका लागि मार्ग खोल्ने काम गर्छ।

आफूहरू यस देशमा केवल पाहुना नभई करदाता, अभिभावक, श्रमिक, शिक्षक, उद्यमी र सार्वजनिक सेवकका रूपमा योगदान गरिरहेको उल्लेख गर्दै उहाँले मूलधारको राजनीतिमा सहभागिता आवश्यक रहेको बताउनुभयो। “कानुन, बजेट र नीति यहीँबाट निर्धारण हुन्छ, त्यसैले हाम्रो आवाज पनि त्यहाँ पुग्नुपर्छ,” उहाँको भनाइ छ।

मेरिल्याण्डको बाल्टिमोर क्षेत्रमा नेपाली समुदायका लागि लाखौं डलर बराबरको बजेट ल्याउन सफल हुनु उहाँको अर्को उपलब्धि हो।

पर्वत जिल्लाको सामान्य किसान परिवारमा जन्मिनुभएका भण्डारीको बाल्यकाल गाउँमै बित्यो। शिक्षाप्रति सानैदेखि सचेत उहाँ सन् २००५ मा अमेरिका पुग्नुभयो। प्रारम्भिक संघर्ष पार गर्दै सन् २०१८ मा ऐतिहासिक विजय हासिल गर्दै राज्य संसदमा पुग्नुभयो।

संसदमा शपथ लिँदा हिन्दू धर्मग्रन्थ ‘वेद’ माथि हात राखेर सपथ लिँदै उहाँले आफ्नो नेपाली पहिचान र संस्कृतिप्रति सम्मान प्रकट गर्नुभएको थियो। उहाँको जीवनयात्रा मेहनत, संकल्प र आत्मविश्वासको प्रेरणादायी उदाहरण बनेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट