प्रकाश सिग्देल,
पढ्न लाग्ने समय २ मिनेट,
विश्वभर सुन (Gold) को माग दिनप्रतिदिन बढ्दै गएको बेला यसको भूमिगत भण्डार (underground reserves) बारे पनि चासो बढिरहेको छ। वैज्ञानिक तथा भू–गर्भीय अध्ययन अनुसार अहिले पृथ्वीको माटोमुनि अझै करिब १ लाख ३० हजार मेट्रिक टनभन्दा बढी सुन उत्खनन हुन बाँकी रहेको अनुमान गरिएको छ। यो तथ्यले सुन सीमित भए पनि अझै ठूलो मात्रामा पृथ्वीभित्र लुकेको छ भन्ने देखाउँछ।
हालसम्म मानवले खनेर प्रयोग गरिसकेको सुन करिब २ लाख १६ हजार मेट्रिक टन आसपास रहेको अनुमान गरिन्छ। तर त्योभन्दा ठूलो हिस्सा अझै पनि पृथ्वीको गहिराइमा दबिएको छ, जुन विभिन्न खानी तथा भू–गर्भीय संरचनामा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार यो सुन निकाल्न सजिलो छैन, किनकि धेरै भण्डार अत्यन्त गहिरो, कठिन भू–भाग र उच्च लागत हुने क्षेत्रमा रहेको छ।
विशेषज्ञहरूको भनाइमा भविष्यमा सुनको उत्खनन प्रविधि(mining technology) अझ विकसित भएमा मात्र यी भण्डारहरू आर्थिक रूपमा उपयोग गर्न सकिने सम्भावना हुन्छ। हालको अवस्थामा धेरै देशहरूले वातावरणीय जोखिम, लागत र प्राविधिक चुनौतीका कारण नयाँ खानी खोल्न सावधानी अपनाइरहेका छन्। यसबीच, अमेरिका, अष्ट्रेलिया, रूस र दक्षिण अफ्रिका जस्ता देशहरू विश्वका प्रमुख सुन भण्डार भएका राष्ट्र हुन्। यी देशहरूमा अझै ठूलो मात्रामा भूमिगत सुन उपलब्ध भए पनि उत्खननको गति सीमित छ।
विश्व बजारमा आर्थिक अनिश्चितता, मुद्रास्फीति र भू–राजनीतिक तनावका कारण सुनलाई फेरि “सुरक्षित लगानी (Safe Haven Asset)” को रूपमा हेरिन थालिएको छ। आजको विश्वमा उपलब्ध तथ्याङ्क अनुसार हालसम्म खनिएको र प्रयोगमा रहेको सुनको कुल मात्रा करिब २,१६,००० देखि २,२०,००० मेट्रिक टन आसपास रहेको अनुमान गरिन्छ। यसमा गहना, केन्द्रीय बैंक, बुलियन र औद्योगिक प्रयोग सबै समावेश छन्। विश्व बजारमा अमेरिका विश्वकै सबैभन्दा ठूलो सुन भण्डार राख्ने देश हो। हाल अमेरिकी सरकारले करिब ८,१३३ मेट्रिक टन ९८ हजार टनभन्दा बढी सुन सुरक्षित राखेको छ। यो सुन मुख्यतः Fort Knox, West Point र अन्य सुरक्षित भण्डारण केन्द्रहरूमा राखिएको छ। विश्वका अन्य देशहरू जस्तै जर्मनी, इटाली, फ्रान्स र रुस पनि ठूलो मात्रामा सुन राख्छन्। तर अमेरिका अझै स्पष्ट रूपमा पहिलो स्थानमा छ।
विशेषज्ञहरूका अनुसार विश्वभर केन्द्रीय बैंकहरूले लगातार सुन खरिद बढाइरहेका छन्। हालैका वर्षहरूमा मात्र एक वर्षमा १,२०० टनभन्दा बढी सुन खरिद भएको रिपोर्ट छ। जसले बजारमा सुनको माग अझ बलियो बनाएको देखिन्छ।विश्वमा करिब २.१ लाख टन सुन सीमित रूपमा उपलब्ध छ भने अमेरिकासँग मात्र ८ हजार टनभन्दा बढी भण्डार छ। यही सीमितता र विश्वव्यापी मागका कारण सुन आज पनि लगानीकर्ताहरूका लागि सबैभन्दा सुरक्षित र आकर्षक सम्पत्ति मानिन्छ। हालको अन्तर्राष्ट्रिय बजार अनुसार सुनको मूल्य प्रति औंस करिब २ हजार ३ सय देखी २ हजार ५ सय अमेरिकी डलर को बीचमा चलिरहेको देखिन्छ। यो स्तर पछिल्ला वर्षहरूको तुलनामा उच्च मानिन्छ, जसले लगानीकर्ताको बढ्दो आकर्षणलाई स्पष्ट रूपमा देखाउँछ।


