खाडी मुलुकहरूमा जारी द्वन्द्व लम्बिँदै जाँदा त्यसको असर सो क्षेत्रमा कार्यरत नेपालीहरूमा पनि बिस्तारै देखिन थालेको छ।
खास गरी ऊर्जा क्षेत्रमा काम गर्ने नेपालीहरूमा युद्धको असर देखिन थालेको कतारस्थित एक नेपाली व्यवसायीले बताए। यद्यपि खाडी देशहरूमा रहेका नेपाली नियोगका अधिकारीहरूले अहिले नै रोजगारी गुम्ने अवस्था भने नआएको बताएका छन्।
हाल द्वन्द्वको चपेटामा परेका खाडी मुलुकहरूमा दक्ष, अर्धदक्ष र अदक्ष गरी ठूलो सङ्ख्यामा नेपालीहरू कार्यरत रहेका तथ्याङ्क छ। अमेरिका र इजरेलले हमला गरेपछि इरानले इजरेली सहर तथा विभिन्न खाडी देशमा रहेका अमेरिकी सैन्य संरचनालाई निसाना बनाएको बताउँदै आएको छ।इरानले यूएई, साउदी अरब र कतारलगायत देशमा रहेका अमेरिकी अखडा तथा उसका सेनाले प्रयोग गर्ने गरेका सैन्य इलाकाका भवन एवं अन्य संरचनामा आक्रमण गरिरहेको उनीहरूले बताएका छन्।


