काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कारागारबाट जबरजस्ती निकालिएको प्रष्टीकरण दिएका छन् । आफूलाई ‘कस्टडी’मा राख्नका लागि सुरक्षा प्रमुखहरूलाई भनेको उनको दाबी छ ।
रवि लामिछानेले फेसबुक लाइभमा आएर भनेका छन्, ‘म आफूले चाहेर निस्किएको होइन । सुरक्षा दिन सकिन्न भनेर मलाई जबरजस्ती बाहिर निकालिएको हो । मलाई जस्तो पत्र दिइयो, जस्ताको तस्तै सार्वजनिक गरेको छु ।’
उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग आफूले कुरा गरेर फेरि थुन्न भनेको बताए ।
लामिछानेले भने, ‘तपाईँहरूले मलाई आफ्नो कस्टडीमा राख्नुस् या कारागारमा पठाउनुस् भनेर उहाँहरूलाई भनेँ । उहाँहरूले आफै सुरक्षित बस्नुस्, परेको बेला आफैँ सम्पर्क गर्छौँ भन्नुभयो । सुरक्षा दिन नसकेरै पत्र दिएको होला भन्ने कुरा गर्नुभयो ।’
उनले आजै न्यायिक निकायहरूलाई पनि औपचारिक जानकारी गराएको बताए । आफू सरकार बनाउने र सरकारमा दौडमा नरहेको उनले प्रष्ट पारे ।


