चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले विशेष आदेश जारी गर्दै भरतपुर महानगरपालिका क्षेत्रभित्र चार किला तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, भेला तथा बैठक गर्न निषेधाज्ञा जारी गरेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार जारी गरेको आदेशअनुसार आज बिहान १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सो क्षेत्रलाई संवेदनशील मानेर निषेधाज्ञा गरिएको हो।प्रशासनले अनावश्यक भिडभाड, शान्ति सुरक्षामा चुनौती आउने सम्भावना र अमनचयन कायम राख्न निषेधाज्ञा गरिएको जनाएको छ।
तर, जीवन आवश्यक सेवासहितका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, पत्रकार, पर्यटक, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकट देखाएर आवतजावत गर्ने यात्रुहरुलाई भने निषेधाज्ञाबाट छुट दिइने उल्लेख गरिएको छ।



