भरतपुर, ८ साउन ।
नेपाल पत्रकार महासङ्घ चितवन शाखाले पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । कोषमा पहिलो रकम पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष वसन्तराज पराजुलीले २५ हजार रुपैयाँ जम्मा गर्नुभएको छ ।
पत्रकारको स्वास्थ्य उपचार, आपतविपद् तथा दुःखमा सहयोग प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरिएको कोषलाई प्रारम्भिक चरणमा १० लाख र क्रमशः बढाउँदै एक करोड पुर्याउने लक्ष्य लिइएको अध्यक्ष पराजुलीले बताउनु भयो । प्राइम बैंक भरतपुर शाखामा नेपाल पत्रकार महासंघ चितवन शाखाको अक्षयकोष खाता नम्वर ००३०१००००००१७२४००१७० मा सिधै रकम जम्मा गर्न सकिने उहाँले बताउनु भयो । अक्षयकोषमा जम्मा भएको रकम र नाम पत्रकार महासंघ चितवन शाखाको वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरिने उहाँले बताउनु भयो । यस अभियानमा साथ र सहयोगका लागि उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।


