मेरो मानसपटलमा बीपी (सान्दाजु)

SHARE:

आज ४३ औं बीपी स्मृति दिवस । स्नेहपूर्वक ‘सान्दाजु’ भनेर सम्बोधन गरिने जननायक बीपी कोइरालालाई विशेष सम्झना गर्ने दिन । बीपी कोइरालाको जीवन, विचार, राजनीतिक दर्शन तथा दृष्टिकोण, पारिवारिक विरासत र ऐतिहासिक योगदानका साथै उहाँको साहित्यिक व्यक्तित्वको स्मरण र विश्लेषण गर्ने दिन पनि हो आजको दिन ।
बीपीले भन्नुभएको थियो- “म मरेपछि नेपाली कांग्रेसमा मेरो बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ । घटनाहरूलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । नेपाली कांग्रेसमा मैले लिएको अडान र मेरो दृष्टिकोणलाई गौण बनाइनेछ । मैले नेपाली कांग्रेसमा सदैव सैद्धान्तिक र विषयगत अडानहरू लिएको छु । राष्ट्रियताको विषयमा, प्रजातान्त्रिक संस्थाहरूको विषयमा, आर्थिक विकास र समाजवादी व्यवस्थाको विषयमा मेरा अडानका निरन्तरता छन् । हिन्दूस्तानको बारेमा, राजाको बारेमा र संसारसॅंगको सम्पर्कका बारेमा मेरो दृष्टिकोणमा एउटा निरन्तरता छ र त्यसका आधारहरू मैले सधैं उल्लेख गर्ने गरेको छु । नेपाली कांग्रेसको इतिहास ती सबै आदर्श र लक्षका साथ भएको संघर्षको इतिहास हो । र, यस मुलुकको उज्ज्वल भविष्यका लागि नेपाली कांग्रेसमा ती कुराहरूको निरन्तरता रहनुपर्छ ।” बीपीको उक्त चिन्ता र सरोकारलाई ख्याल गर्दै बीपी सम्बन्धी भ्रमहरू चिरेर उहाँको वास्तविक परिचय जनतासम्म पुऱ्याउन आजको दिनमा हुने बहसहरूले योगदान गर्न सकून् । आजको दिनका बहसहरू बीपी कोइरालाको व्यक्तित्वको मूल्याङ्कन गर्नुमा मात्र सिमित नरही आजको राजनीतिमा बीपी विचारको सान्दर्भिकता खोज्नुमा पनि केन्द्रित होऊन् ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला केवल राजनीतिज्ञ मात्र नभई एक प्रगतिशील चिन्तक, लेखक, र मानवतावादी नेता पनि हुनुहुन्थ्यो । बीपीको विचारमा लोकतन्त्र, समाजवाद, र राष्ट्रियताको त्रिकोणात्मक सन्तुलन देखिन्छ । बीपी कोइरालाको चिन्तन केवल राजनीतिक, साहित्यिक वा सामाजिक सीमामा सीमित थिएन । उहाँको चिन्तन मानव अस्तित्वको मूल प्रश्नहरूसम्म पुगेको हुन्थ्यो । अस्तित्वको संघर्षको सम्बन्धमा फ्रेन्च दार्शनिक कामुका विचारले बीपीलाई गहिरोसॅंग छुन्थे । कामुले भनेका थिए, “मृत्युको अपरिहार्यता जानेर पनि मान्छे त्यो द्वार खुला देख्दैन । त्यहाँ पुगेपछि ऊ फर्किने ठाउॅं छैन, उसको अघि बढ्ने बाटो समाप्त हुन्छ । तथापि मान्छेले मृत्युसॅंग सम्झौता गर्दैन ।” त्यसमा सहमति जनाउॅंदै बीपी पनि भन्नुहुन्थ्यो “मृत्युको अनिवार्यता जानेर पनि मैले त्यससॅंग सन्धि गर्न सकेको छैन ।”

बीपी कोइराला सदैव नेपाली राजनीतिको केन्द्रमा रहनुभयो । बीपी कोइरालाको साहित्यिक सृष्टि उहाँको राजनीतिक चेतनाकै अर्को पाटो हो । बीपीको साहित्यका पात्रहरूले समयको सामाजिक-राजनीतिक यथार्थलाई उजागर गरेका छन् । बीपीका लागि जीवन कुनै पूर्वनिर्धारित धर्मशास्त्रीय अनुशासन नभएर, एउटा निरन्तर खोज थियो-स्वतन्त्रताको, उत्तरदायित्वको, र अन्तर्मनको । उहाँको लेखनबाट ‘मान्छे केवल परिस्थितिको उत्पादन होइन’ भन्ने कुरामा उहाँको अटल विश्वास थियो भन्ने स्पष्ट देख्न सक्छ। बीपीको सोचमा व्यक्तिको स्वतन्त्रता यस्तो एउटा कडीका रूपमा देखिन्छ जसले उहाँलाई साहित्य र राजनीति दुवैमा सँगसँगै उभ्याउँछ । उहाँका कथा र उपन्यासका पात्रहरू सामाजिक-सांस्कृतिक परम्परा र यथास्थितिका विरुद्धमा उभिएर स्वतन्त्र रूपले विचरण गर्दछन्, र स्थापित सामाजिक मूल्य-मान्यताका विरुद्ध विद्रोह गर्दछन् । उहाँको विश्वास थियो, व्यक्तिको स्वतन्त्रता नै समुन्नत समाजको आधार हो ।

बीपी कोइरालाले नेपालको राजनीतिक चेतनालाई लोकतान्त्रिक दिशातर्फ मोड्न ऐतिहासिक भूमिका खेल्नुभयो । बीपी कोइरालाको विचार र भूमिकाले उहाँको जीवनकालमा मात्रै नभई, उहाँको देहान्त भएको चार दशकभन्दा बढी समय व्यतीत भइसकेपछिको आजको समयमा पनि नेपाली राजनीतिमा उत्तिकै प्रभाव पारिरहनुले उहाँ एक दुरदर्शी राजनीतिज्ञ हुनुहुन्थ्यो भन्ने कुरा स्पष्ट हुन्छ । २००७ सालको क्रान्तिदेखि २०१५ को आमनिर्वाचन, २०३३ सालको राष्ट्रिय मेलमिलापको नीति, २०३६ सालको जनमत संग्रह, र बीपीको देहान्त भइसकेपछिको २०४६ सालको परिवर्तन र २०६२/०६३ को जनआन्दोलनका घटनाहरूलाई हेर्दा आफ्नो विचारका कारण बीपी जीवित छॅंदा मात्र होइन मृत्युपश्चात् पनि नेपालको राजनैतिक परिदृश्यमा उत्तिकै सान्दर्भिक देखिनुहुन्छ । आज पनि संविधानका अक्षरहरूमा बीपीको आवाजको प्रतिध्वनि सुनिन्छ ।

गान्धीवादी भनिएपनि बीपी कोइरालाले कहिल्यैपनि विशुद्ध रूपमा गान्धीवादलाई मात्रै अँगाल्नुभएन । शान्तिपूर्ण आन्दोलन वा सशस्त्र क्रान्तिलाई उहाँले आफ्नो लक्षप्राप्तिको साधन मात्रै मान्नुभयो । अदालतमा बयान दिंदै उहाँले भन्नुभएको थियो- “मैले क्रान्तिको आह्वान गरेको हुँ । विरोधको कुनै शान्तिपूर्ण वैधानिक उपाय नभएर क्रान्तिको सिद्धान्त अपनाउनु परेको हो….अर्थात् जनताका तमाम अधिकार खोसिएको स्थितिमा, आफ्नो मौलिक प्रजातान्त्रिक अधिकार प्राप्त गर्नका लागि र प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नका लागि जनतालाई क्रान्ति गर्ने अधिकार छ भन्ने कुराको बखत-बखतमा प्रचार र घोषणा गरेको हुँ । यो जनताको जन्मसिद्ध अधिकार हो ।” बीपीले अदालतमा दिनुभएको त्यो ऐतिहासिक अभिव्यक्ति आजपनि नागरिक स्वतन्त्रता, मानवाधिकार र लोकतन्त्रको पक्षमा गरिएको विश्वस्तरीय घोषणामध्ये पर्दछ । त्यस बयानलाई मैले गत वर्ष अङ्ग्रेजी भाषामा अनुवाद गरेको थिएँ जसले मलाई थप गर्ववोध भएको छ ।

बीपी कोइराला एक आदर्शवादी नेता हुनुहुन्थ्यो । उहाँ सदैव आदर्शद्वारा प्रेरित रहनुभयो । जस्तोसुकै संकटको घडीमा पनि उहाँले आफ्नो आदर्शलाई छोड्नुभएन । जेलजर्नलमा बीपीले लेख्नुभएको छ- “भविष्यको गर्भमा कुन्नि के कुरा लुकेको छ- असल या अहिलेको भन्दा पनि खराब ? सहनशीलता र धैर्यको सीमामा पुगिसकें जस्तो हुन्छ मलाई । डर हुन्छ कहीं म भाँचिन त भाँचिन्नॅं । भविष्यकाप्रति निराशा भएपछि मानिस अत्यन्त कमजोर हुँदोरहेछ । भविष्यका प्रति विश्वास बडो ठुलो नैतिक शक्ति रहेछ, जसले वर्तमानको कष्टलाई सह्य बनाउन सक्छ । मलाई डर यसै कुरामा छ कि कहीं म भविष्यका प्रति एकदम आस्थाहीन नहुँ । भविष्य मेरो मात्र होइन- मेरा सन्तानको पनि छ । यदि मबाट अहिले केही कमजोरी हुन गयो भने म त बिग्रें बिग्रें, मैले उनीहरूलाई छोडेर जाने उत्तराधिकारको सम्पत्ति- इज्जत र मर्यादालाई पनि नष्ट गरेर जानेछु । तसर्थ, जे भए पनि, मृत्युलाई अॅंगालेर पनि मैले नैतिकतालाई छाड्नु हुन्न, मैले आफूलाई भाँचिन दिनुहुन्न ।”

बीपी कोइराला एक असाधारण मानव हुनुहुन्थ्यो । मानव नामक जीव अरू सबै जीवको तुलनामा सर्वाधिक चेतनशील र परिष्कृत जीव हो भन्ने स्थापित भइसकेको तथ्य हो । यस सन्दर्भमा अध्यात्मवादीहरू होऊन् वा भौतिकवादीहरू सबैको एउटै मत पाइन्छ । चाहे चार्ल्स डार्विन जस्ता जीववैज्ञानिक होऊन् वा विशुद्ध अध्यात्मवादी सबैको एउटै मत छ कि मानवजाति विकास उन्मुख स्थितिमा छ र हरेक मानवमा अझ विकसित हुने क्षमता छ ।

बीपी कोइरालाले भन्नुभएको थियो, “हामीले त्यस क्षमतालाई बुझेर काम गऱ्यौं भने हामी मानवबाट अतिमानव बन्न सक्तछौं र भोलि पर्सि यो मानव समाज अतिमानव समाज बनेर जान पनि सक्ला ।” त्यस दृष्टिले हेर्दा बीपी कोइरालाभित्र एउटा मानव अझ माथि उठ्न सक्छ भन्ने विश्वास रहेको देखिन्छ । जवाहरलाल नेहरूको निधनपछि बीपी लेख्नुहुन्छ- “नेहरू विश्ववन्द्य भएर चितामा चढे । उनको मरणले लाखौं-लाख आँखामा आँसु ल्यायो । उनको शवको यात्राले इतिहासका महत्तम चक्रवर्तीहरूको शवयात्रालाई उपेक्षा गरेको थियो होला । नेहरू धन्य-धन्य भएर गए । व्यक्तिगत जीवनमा त्योभन्दा बढी के चाहना हुन सक्छ ?” (जेल जर्नल पृष्ठ १७३) ।
४३ वर्ष अघि आजकै दिन बीपीको पनि त्यसरी नै नेपालको इतिहासको सबैभन्दा ठूलो शवयात्रा भयो । उहाँको निधनमा लाखौं लाखले आफ्नो सबैभन्दा प्रिय वस्तु गुमाएको महशुस गरे । यसरी हेर्दा बीपी सर्वसाधारणको चाहना भन्दा भिन्न चाहना राख्नुहुन्थ्यो र उहाँले आम मानवको भन्दा नितान्त भिन्न लक्ष्य लिनुभएको थियो भन्ने स्पष्ट हुन्छ । बीपी आफ्नो जीवनको उत्तरार्धमा भन्ने गर्नुहुन्थ्यो- दैवत्व एउटा परिकल्पना हो जो मानिसले आफ्ना प्रयासहरूद्वारा प्राप्त गर्न सक्तछ (जेल जर्नल पृष्ठ २१) ।

बीपी कोइरालामा केही असाधारण लक्षणहरू उहाँको बाल्यकालदेखि नै देख्न सकिन्छ । सानो बालक छॅंदादेखि नै उहाँमा अरू बालकहरूको भन्दा भिन्नै स्वभाव थियो । चाहे त्यो बिना एनेस्थेसिया संगीन घाउ चिर्दा बेहोश हुने स्थितिमा पनि पीडाको कुनै आवाज ननिकालेको असाधारण घटना होस् वा पौडी नै नजानेको बालकले पिताको एक ईशारामा कोशीमा हामफालेको पत्याउनै मुश्किल पर्ने घटना होस् बीपीमा सानैदेखि असाधारण गुण देखिएको थियो । चरम आर्थिक संकटको समयमा बनारस पढ्न जानको लागि बीपीले आफ्नी सानीमा र बहिनीका नाकका सुनका मुन्द्रीहरू बेच्नुभएको थियो । यसबाट के बुझिन्छ भने बीपीको हृदयमा आफूलाई भविष्यका लागि तयार गर्नुपर्छ भन्ने भावनाले जरो गाडेको थियो ।

बीपी आम निर्वाचनमा जनताद्वारा दुई तिहाई बहुमत प्राप्त दलको प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री भएकै अवस्थामा आफूलाई गिरफ्तार गरी पदच्युत गर्ने राजाका प्रति समेत घृणाको स्थायी भाव प्रकट नहुनु निश्चय नै असामान्य गुण हो ।

बीपीसॅंग अर्को एउटा असाधारण गुण थियो- आफ्नो कमजोरीलाई नलुकाई सार्वजनिक गर्ने सहास । त्यस मामलामा बीपी कोइराला महात्मा गान्धीभन्दा पनि अब्बल देखिनुभएको छ । महात्मा गान्धीको सम्बन्ध भएको भनेर चर्चा चलेका कैयौं स्त्रीहरूसॅंग लेखकहरूले गरेको अन्तरवार्ताबाट महात्मा गान्धीले जीवनको त्यो महत्त्वपूर्ण पक्षको बारेमा आफ्नो आत्मकथामा समेत सत्य लेख्न नसकेको स्पष्ट हुन्छ जब कि बीपीले त्यो समाजवर्जित विषयमा समेत सत्य लेख्ने र बोल्ने सहास गर्नुभएको छ ।

आफूले मानेको सत्य र आफ्नो आदर्शका लागि जस्तोसुकै दुःखकष्ट पनि सहन तयार हुनु अर्को असाधारण गुण हो । चाहे त्यो मुटु कमाउने पुसको काठमाडौंको ठण्डीमा बिना कपडा नेल र हतकडी सहित बिताउनुपरेका चीसा रातहरू होऊन् वा राणाशासकको हिरासतमा २९ दिनसम्म अनशन गर्नुपर्दाको कष्टकर समय होस् उहाँ टुट्नुभएन, झुक्नुभएन । यातनाको सम्बन्धमा साधारण मानवले सोच्नै नसक्ने किसिमको उद्गार उहाँको मुखबाट निस्कन्छ- “असहनीय वेदना त मान्छेले सहनै पर्दैन । ऊ बेहोश भइहाल्छ ।” यस अर्थमा पनि बीपी कोइराला असाधारण हुनुहुन्छ ।

सामान्य मानिसका लागि जेलको सजाय कठोर दण्ड हो । हिंड्ने, डुल्ने लगायतका नैसर्गिक अधिकारहरूबाट समेत वञ्चित गरिएको मानिसले जेलमा आफ्नो स्वाभाविकता समेत गुमाउॅंछ । तर बीपीका अधिकांश साहित्य सिर्जना जेलमा नै भएका छन् । जेलका पर्खालहरू मुटुजस्तै धड्कन्थे जब बीपी जेलभित्रै ‘स्वतन्त्रता’ लेखिरहनुहुन्थ्यो । कारागारका पर्खालहरूलाई नाघेर सिर्जनाको शिखर चुम्नु कुनै सर्वसाधारणको लागि संभव छैन जुन कुरा बीपीको लागि संभव भयो ।

बीपी कोइराला नियमित रूपमा दैनिकी लेख्नुहुन्थ्यो । दैनिकी उहाँको आत्ममूल्यांकन गर्ने एउटा साधन थियो । आत्ममूल्यांकन गरेर आफूमा सुधार ल्याउने कुरामा उहाँ सधैं लागिरहनुभयो । यो पनि एउटा विशिष्ट लक्षण हो ।

सामान्यतया एउटा साधारण व्यक्ति आफ्नो मृत्युको संभावनाको कल्पना गर्दा पनि त्रसित हुन्छ । अझ केही समयभित्र मृत्यु निश्चित छ भन्ने जान्यो भने त ऊ हतप्रभ नै हुन्छ । तर डाक्टरबाट निकट भविष्यमा नै आफ्नो अवश्यंभावी मृत्युको खबर सुनेर पनि उहाँमा कुनै सामान्य घटनाले गर्ने असरभन्दा बढी असर नपर्नु पक्कै पनि असाधारण गुण हो ।

बीपी स्वयं भने भन्नुहुन्थ्यो- “म कुन उडानबाट उत्रॅंदैछु भन्ने म जानकारी दिन्नॅं किनभने त्यहाँ उपस्थित भीड देखेर म लज्जित हुन्छु ।” बीपीको विचारमा कुनै मान्छे त्यति ठूलो पनि हुँदैन जति ठूलो उसलाई ठानिएको हुन्छ र कुनै मान्छे त्यति सानो पनि हुँदैन जति सानो उसलाई बनाइएको हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने मान्छेले देवत्व प्राप्त गर्न सक्छ भन्ने मानेपनि स्वयं बीपीमा भने कसैले आफूलाई त्यो श्रेणीमा राखोस् अथवा महामानव नै पनि भनिदेओस् वा मानिदेओस् भन्ने आकांक्षा देखिंदैनथ्यो । बीपीको “अतिमानव” आत्मकेन्द्रित अहंवाद होइन, यो त विवेक, संवेदना, र करुणाबाट पोषित आकांक्षाझैं देखिन्छ ।

एउटा प्रसंगको सम्झना हुन्छ सी.के. प्रसाईंले कतै उल्लेख गर्नुभएको । नेपाली कांग्रेसका विचारक सी.के. प्रसाईंले जब स्नातकोत्तर गर्नुभयो उहाँको मनमा संशय उत्पन्न हुन थाल्यो कतै उहाँ अब बिग्रनु त हुन्न । उहाँको जग्गा-जमिन प्रशस्त थियो, खान लगाउनको लागि जागीर खानुपर्ने वा कुनै व्यवसाय गर्नुपर्ने थिएन । त्यो जमानामा स्नातकोत्तर गर्नुभएको थियो । बिग्रन्छु कि भन्ने डरले उहाँ त्यस्तो व्यक्तिको खोजीमा लाग्नुभयो जसको छत्रछायाँमा आफूलाई सुरक्षित मान्न सक्नुहोस् । उहाँले बीपीलाई भेट्टाउनुभयो र आजीवन उहाँलाई आफ्नो वफादारी सुम्पनुभयो । उहाँले कतै भन्नुभएको थियो- “म बीपीको बारेमा कुनै नकारात्मक कुरा सुनिहालेपनि त्यसलाई एक कानले सुनेर अर्को कानले उडाइदिन्थें किनभने मलाई डर थियो कि त्यस्तो कुराले मैले असीम श्रद्धा गरेको बीपीप्रतिको श्रद्धा नघटाइदिओस् ।”

बीपी केवल अतीत नभई हामीभित्रको सम्भावना पनि हुनुहुन्छ- कविता लेख्ने हातहरूमा, क्रान्ति चिहाउने आँखाहरूमा, अनि नयाँ नेपाल खोज्ने मन-मस्तिष्कहरूमा ।

जननायक बीपी कोइरालाप्रति हार्दिक श्रद्धासुमन !

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट