साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

SHARE:

काठमाडौं, ४ साउन ।
साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्याय शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई र प्राडा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरेका थिए ।

शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको मोह तथा त्यसका लागि सरकारले ऋणलगायतका सुविधा उपलब्ध गराएर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पुर्‍याइएको सहयोगलाई उपन्यासमा मूल रूपमा प्रस्तुत गरिएको छ । लामो समय शिक्षणमा संलग्न साहित्यकार मल्लको यो तेस्रो सृजना हो ।

त्यस अवसरमा प्राडा भट्टराईले ‘निर्गम’ वर्तमान यथार्थको हृदयहारी अभिलेखन भएको टिप्पणी गरेका थिए । प्राडा कोइरालाले कृतिमाथि समीक्षा गरे भने साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, लक्ष्मण वियोगी, शरद् प्रधानले टिप्पणी गरेका थिए ।

एक सय ७२ पृष्ठको उक्त उपन्यासमा ३४ वटा अध्याय छन् । शून्यबाट सुरु हुने जीवन ३२ लक्षणले पूर्ण भए पनि आखिर पुनःशून्यमै अन्त्य हुन्छ भन्ने वास्तविकता प्रस्तुत छ । कृतिको मूल्य ३७५ रुपैयाँ छ । मल्लका यसअघि `शुभारम्भका पाइलाहरु´ उपन्यास र `सिउँडीको फूल´ कवितासङ्ग्रह प्रकाशित छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट