मकवानपुर, ३२ असार ।
बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा १ सय २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सिसिटिभी क्यामेरा जडान गरिएको हो ।
प्रविधियुक्त ‘सिसिटिभी निगरानी प्रणाली’ को मंगलबारबाट बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो । उक्त क्यामेराहरु ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिने व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ । चितवनकाे नारायणगढ, सिन्धुलीकाे भिमान, मकवानपुरकाे रातोमाटेलगायतका संवेदनशील स्थानहरुमा अत्याधुनिक बिएलएच क्यामेरा र राडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । सीसीटीभी जडान पछि ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रणमा सहज हुने उनले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको छ । विद्युत अवरोधको अवस्थामा प्रणाली सञ्चालनकाे लागि युपीएस समेत जडान गरिएको बताइएकाे छ । उक्त प्रणाली खरिदकाे लागि २०८२ जेठ १० गते सम्झौता गरिएको थियाे । २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागतमा १२० वटा सीसीटीभी जडान गरिएकाे हाे ।


