मकवानपुर, ३१ असार ।
मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा प्रदेश प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण हुने प्रदेशस्तरीय प्रहरी अस्पतालकाे शिलान्यास गरिएको हो ।
हेटौंडा उपमहानगरपालिका–१७ स्थित हटियामा प्रदेश प्रहरी अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गरेका हुन् । अस्पताल शिलान्यास गर्दै मन्त्री लामिछानेले प्रदेशको सुरक्षाको विषयमा सरकार गम्भीर रहेकाले नागरिक तथा प्रहरीलाई लक्षित गरेर अस्पताल निर्माण थालिएको बताए । ‘अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लाभान्वित हुनेछन्’ उनले भने ।
बागमती प्रदेश प्रहरी कार्यालय मार्फत कार्यान्वयन हुने आयोजनाअन्तर्गत अस्पताल परिसरमा बहिरङ्ग विभागको कक्ष, कर्मचारी आवास, अस्पताल परिसरको घेराबार, डिप बोरिङ, पार्किङलगायतका अस्पतालका संरचनाहरु पहिलो चरणमा बन्नेछ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित बजेटबाट सुविधा सम्पन्न ३० शय्याको अस्पताल बनाउने योजना अनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल निर्माण थालिएको हो । आगामी २०८३ पुस १८ गतेभित्रमा सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि करसहित ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको हो ।
अस्पताल भवनको पहिलो चरणको निर्माण पूरा भएपछि अन्तरङ्गसँगै बहिरङ्ग सेवा सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले बताए ।
हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौँडा १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।


