काठमाडौँ, २९ असार ।
आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती । भानुको सम्झनामा देश तथा विदेशमा विभिन्न कार्यक्रम भइरहेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आज काठमाडौंमा प्रभात फेरी गर्नुका साथै दुई साहित्यकारको रथारोहण गराएको छ । कविद्वय तुलसी दिवस र गोविन्दराज विनोदीको रथारोहण भएको हो । कार्यक्रममा सभामुख देवराज घिमिरे, शिक्षा मन्त्री रघुजी पन्त, साहित्यकार डा. नवराज लम्साल लगायत सहभागी थिए ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहित भानुभक्तले ‘रामायण’ तयार पारेका थिए । १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी उपदेश दिएपछि उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फूटकर रचनालगायत उनका कृति हुन् । भानुभक्तको निधन १९२५ असोजमा भएको थियो ।


