जथाभावी लेख्नाले हाम्रो साहित्य पत्रु बन्दै गैरहेको छ : प्रेम रिमाल

SHARE:

गैंडाकोट, २८ असार ।
पढ्ने बानीले मानिसलाई व्यवहारिक बनाउने शिक्षासेवी प्रेम रिमालले बताउनुभएको छ । पठन संस्कृति अभियानको १५ औँ शृङ्खलाका प्रमुख अतिथि रिमालले पठन संस्कृति आफ्नो पनि अभियान भएको बताउनु भयो । उहाँले भन्नुभयो – `पढ्ने बानीले घटनालाई बुझ्न सकिन्छ, परिस्थितिलाई चिन्न सकिन्छ । हामीले आफ्नो सामर्थ्यले संसारमा शासन गर्न सक्नुपर्छ ।´
रिमालले यो सामर्थ्य र शक्ति अध्ययनबाट मात्रै प्राप्त हुने बताउनु भयो ।

उहाँले साहित्य श्लील हुनुपर्नेमा पनि जोड दिनुभयो । हिजोआज अश्लील र जथाभावी लेखनले पाठकमाथि अन्याय भएको पनि बताउनुभयो । लेखकले पाठकलाई अन्याय नहुनेगरी सिर्जना गर्नुपर्ने उहाँको माग थियो । `जथाभावी लेख्नाले हाम्रो साहित्य पनि पत्रु बन्दै गैरहेको छ । जसरी हामी पत्रु खानालाई बहिष्कार गर्छौँ, त्यसैगरी पत्रु साहित्यलाई पनि हामीले बहिष्कार गर्न सक्नुपर्छ र राम्रो साहित्य मात्रै पढ्ने बानी गर्नुपर्छ´, रिमालले भन्नुभयो । उहाँले यो अभियानको निरन्तरताको पनि कामना गर्नुभयो ।

शनिबार गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा ८ जनाले पाठकीय अनुभूति राख्नुभयो । कार्यक्रमको सुरुवातमा अधिवक्ता रमेश काफ्ले प्रस्तुत हुनुभयो । काफ्लेले सिके राउतको पुस्तक `वैरागदेखि वचावसम्म´का बारेमा टिप्पणी राख्नुभयो । `मधेसलाई पहाडले हेर्ने दृष्टिकोण हेपाहा भएको पुस्तक उल्लेख गरिएको छ´, काफ्लेले भन्नुभयो – `सिके राउतको राजनीतिक आन्दोलनको वर्णन भए पनि मधेस आन्दोलनको सकारात्मक पाटो भने किताबमा कम छ ।´

त्यसैगरी मेनका चापागाईंले केशवप्रसाद कँडेलको `जीवनयात्रा´ आत्मकथाको टिप्पणी प्रस्तुत गर्नुभयो । लामो समयसम्म शिक्षा सेवामा समर्पित कँडेलको शैक्षिक एवम् सामाजिक सन्दर्भ किताबमा समेटिएको चापागाईंले बताउनुभयो ।

त्यसैगरी अस्मिता खनालले युवाल नोआ हरारीको `स्यापिएन्स´ पुस्तकको बारेमा टिप्पणी राख्नुभयो । यो किताबमा मानव सभ्यतादेखि कृत्रिम बुद्धिमत्ताका बारेमा लेखकले रोचक ढंगले प्रस्तुत गरेको खनालले बताउनुभयो ।

 

अर्का वक्ता सिर्जन कँडेलले वसन्त पराजुलीको `मोम्चो´ कथासङ्ग्रहको चर्चा गरे । मोम्चोमा विशेषगरी चेपाङ समुदायको चित्रण र नारी हिंसाका प्रसङ्ग समेटिएको कँडेलले बताउनु भयो । कँडेल विद्या विकास इङ्ग्लिस स्कुल भरतपुरमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।

Oplus_2

अर्का वक्ता बेलु दराइले एलबी क्षेत्रीको नियात्रासङ्ग्रह `अमेरिकामा ४३ दिन´ किताबको टिप्पणी राख्नुभयो । सन् २०१६ मा अमेरिका घुम्नुभएका क्षेत्रीले ४३ दिनको भ्रमणलाई संस्मरणका रूपमा किताबमा समेट्नुभएको दराइले बताउनुभयो ।

त्यस्तै पत्रकार प्रेमप्रसाद कँडेलले तसलिमा नसरिनको `बिग्रेकी केटी´ उपन्यासको टिप्पणी राख्नुभयो । यो उपन्यासमा मुस्लिम महिलालाई पढाई सँगसँगै अन्य क्रियाकलापमा सकारात्मक पहुँच नभएको विषय उठान गरिएको कँडेलले बताउनुभयो । लेखकले यहि विषय उठान गर्दा समाजले उनलाई बिग्रेकी केटीको संज्ञा दिएको कँडेलले सुनाउनुभयो ।

अर्का वक्ता शंकर आचार्यले अमर न्यौपानेको `पानीको घाम´ किताबको टिप्पणी राख्नुभयो । नेपालगन्ज सेरोफेरोमा लेखिएको किताबका पात्रहरू यो किताब पढ्ने पहुँचमा नभएको उहाँले सुनाउनु भयो । त्यसैगरी दीपनारायण सापकोटाले डाक्टर जीवन क्षेत्रीको पुस्तक `नुनतेल´को टिप्पणी सुनाउनुभयो । यातायातको राम्रो विकास नहुँदासम्म बागलुङदेखि बटौलीसम्मको पदयात्रामा हाम्रा बाहजुरबुबाहरुले नुनतेल बोकेको प्रसङ्गलाई लेखक क्षेत्रीले सुन्दर ढंगले किताबमा उल्लेख गरेको सापकोटाले बताउनुभयो ।
फरक प्रसङ्गमा विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बजेटमा नागरिकको संभाव्यता बारे बोल्नुभएको थियो ।

पठन संस्कृति अभियानलाई विजय सूचना तथा सञ्चार सहकारी र विजय एफएमले संयुक्तरूपमा आयोजना गरेको छ । गैंडाकोटमा २०८१ वैशाखबाट सुरु गरिएको यो अभियान महिनाको अन्तिम शनिबार आयोजना हुने गर्दछ । गैंडाकोटसँगै रजहर, कावासोती र पाल्पाको रामपुरमा पनि यो कार्यक्रम गरिँदै आएको कार्यक्रम संयोजक त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट