मकवानपुर, २५ असार ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा बेलायत प्रस्थान गरेका छन् । एक साताका लागि मुख्यमन्त्री लामा बेलायत गएका हुन् ।
निजी कामको सिलसिलामा मुख्यमन्त्री लामा प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बुधबार बेलायत प्रस्थान गरेका हुन् । मुख्यमन्त्री लामा बेलायतमा छोरीको दीक्षान्त समारोहमा सहभागी हुने बताइएकाे छ । बेलायतमा रहँदा मुख्यमन्त्री लामा धादिङ–नुवाकोट समाज र तामाङ समुदायद्वारा आयोजित औपचारिक कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको उनकाे सचिवालयले जनाएकाे छ ।
मुख्यमन्त्री विदेश भ्रमण अवधिमा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीकै सिफारिसमा असार २५ गतेदेखि लागू हुने गरी कृषि मन्त्री श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।


