चितवनमा भरियो शव गृह, ५ सयसम्म शव राख्न मिल्ने गरी पहिचान केन्द्र तयार गरिदै

SHARE:

प्रकाश सिग्देल.USA

पढ्न लाग्ने समय २ मिनेट,

चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमर्टम घर भरिएपछि  रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ। हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको भरतपुर अस्पतालका सूचना अधिकारी गाोपालप्रसाद पौडेलले बताए। अस्पतालमा १२ जनासम्म राख्ने क्षमता रहेको र त्यो भरिएको उनले बताए । ‘हाम्रोमा ६ वटा फ्रिजर हो। एउटामा २–२ जना राख्दा १२ जना राख्न मिल्छ,’ उनले भने, ‘पहिल्यै बेवारिसे शव पनि छन्। यस्तो हताहतमा हामीले धान्न सक्ने क्षमता छैन।’गर्मीको मौसममा धेरै समय शव घाममा राख्दा बिग्रने, गन्हाउने समस्या हुन्छ। यसकारण जिल्ला सुरक्षा समितिको बैठकले शव गृहमा नअटेका शव एसी सहितको कोठामा राख्ने तयारी गरेको उनले जानकारी दिए। आफन्त वा परिवारले शव प्रहरीमार्फत सनाखत गरेपछि अस्पतालले पोष्टमर्टम गरेर जिम्मा लगाउने उनले बताए। भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको एउटा पुरानो भवनमा ‘पीडित परिवार सम्पर्क परामर्श केन्द्र’ (शव पहिचान केन्द्र) स्थापनाको काम अहिले भइरहेको छ। ५ सयसम्म शव राख्न मिल्ने गरी पहिचान केन्द्र तयार भइरहेको चितवनका एसपी रामेश्वर पौडेलले बताए। चितवन क्षेत्रबाट मात्र हालसम्म १ सय ८ वटा शवहरू फेला परेका छन्। ती शवलाई सुरूमा भरतपुर अस्पतालको मर्चरीमा लगेर सफा गर्ने, ट्याग लगाउने र बडी ब्यागमा राख्ने काम हुँदैछ। त्यसपछि, माइनस डिग्री सेल्सियस तापक्रम भएको पहिचान केन्द्रको विशेष कुलिङ हलमा शव राखिने एसपी पौडेलले बताए। आफन्त र परिवारका सदस्यले यहाँ राखिएका शव नेपाल प्रहरीको वेबसाइट र सामाजिक सञ्जालमार्फत् फोटो हेरेर पहिचान गर्न सक्नेछन्। शव पहिचान भएपछि ट्याग नम्बर अनुसार शव गृहबाट निकालेर कानुनी प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइनेछ। पीडित परिवारका लागि निःशुल्क होटल र २४ सै घण्टा एम्बुलेन्स सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पीडित परिवारका लागि होटल व्यवसायी संघ चितवन र सौराहाको समन्वयमा निःशुल्क बस्ने व्यवस्था गरिएको छ। 

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट