मेरिल्यान्ड हाउस अफ डेलिगेट्स पदका लागि प्राइमरी चुनाव लड्दै नेपाली पत्रकार सतीश चापागाईं / मेरिल्यान्ड राज्य सांसद् डा.ह्यारी भण्डारीको साथ

SHARE:

प्रकाश सिग्देल मेरिल्यान्ड अमेरिका,

पढ्न लाग्ने समय : २ मिनेट

अमेरिकास्थित मेरिल्यान्ड राज्यको सांसद् हाउस अफ डेलिगेट्स (तल्लो सदन) पदका लागि नेपाली मूलका सतीश चापागाईं चुनावी अभियानमा हुनुहुन्छ । चापागाईं आगामी नोभेम्बर २०२६ मा हुने राज्यस्तरीय आमनिर्वाचनका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार चुनिनका लागि प्राइमरी चुनावमा ‘मेरिल्यान्ड राज्य, डिस्ट्रिक्ट ७ ए बाट प्रतिस्पर्धामा हुनुहुन्छ । चापागाईंको यो अभियानलाई मेरिल्यान्ड राज्यका बहालवाला सांसद् ह्यारी भण्डारीले औपचारिक रुपमा अनुमोदन  गरी सहयोग गरिरहनुभएको छ ।
 प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहनुभएका नेपाली मूलका सतीश चापागाईंले आफ्नो चुनावी माहोल निकै सकारात्मक रहेको बताउनुभएको छ । चापागाईंले आफूलाई यस क्षेत्रमा रहेका सबै समुदायबाट प्राप्त भइरहेको समर्थनले जितको नजिक पुर्‍याएको दाबी गर्नुभयो । ‘मलाई एसियन, अमेरिकनलगायत सबै समुदायले उत्साहपूर्वक समर्थन र सहयोग गरिरहनुभएको छ , आफ्नो चुनावी अभियानबारे जानकारी दिँदै चापागाईंले भन्नुभयो, ‘चुनावी माहोल एकदमै राम्रो छ, म जितको नजिक छु ।

प्राइमरी चुनावको अन्तिम मुख्य मतदान आगामी जुन २३ मा हुँदैछ । आर्थिक तथा नैतिक सहयोगको आह्वान गर्दै चापागाईंले निर्वाचन अभियानलाई थप सशक्त र प्रभावकारी बनाउन उम्मेदवारका लागि जनसमर्थन र सहयोग अपरिहार्य हुने भएकाले आर्थिक सहयोगका लागिसमेत आह्वान गर्नुभयो ।

प्राइमरी चुनावका लागि अग्रिम मतदान  सुरु भइसकेको छ भने अन्तिम मतदान जुन २३, २०२६ मङ्गलबार हुँदैछ । यस चुनावबाट डेमोक्रेटिक पार्टीको तर्फबाट सबैभन्दा बढी मत ल्याउने दुई जना उम्मेदवार छनोट हुनेछन्। जसले नोभेम्बरमा रिपब्लिकन उम्मेदवारसँग अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।चापागाईंको निर्वाचन अभियानमा चर्चीत गायीका शान्ति भण्डारी पुगेर साथ हौसला समेत दिनु भएको छ । 

आगामी नोभेम्बरमा हुने आमनिर्वाचनका लागि चुनिन डेमोक्रेटिक पार्टीका तर्फबाट यस प्राइमरी चुनावी प्रतिस्पर्धामा चारजना प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा सतीश चापागाईं, टम बेकर, लिडिया ब्राउन र क्लिभल्यान्ड रेनोल्ड्स जुनियर हुनुहुन्छ । अर्कोतर्फ रिपब्लिकन पार्टीबाट भने नोभेम्बरमा हुने आमनिर्वाचनका लागि रायन नारोक्की र क्याथी जेलिगा चयन भइसक्नुभएको छ ।

मेरिल्यान्ड स्टेट बोर्ड अफ इलेक्सन्सको तथ्यांकअनुसार, मेरिल्यान्डको डिस्ट्रिक्ट ७ ए को कुल मतदाता संख्या ८३ हजार रहेको छ । यस्तै, डेमोक्र्याटिक पार्टीका मतदातास् ३४.७ प्रतिशत, रिपब्लिकन पार्टीका मतदातास् ४४.९ प्रतिशत र स्वतन्त्र  मतदाता १८.९ प्रतिशत रहेका छन् । यसैगरी, कुल मतदातामध्ये ४ प्रतिशत एसियाली मूलका मतदाता रहेका छन् । 

आप्रवासी र सीमान्तकृत समुदायको आवाजलाई नीति निर्माणको तहसम्म पुर्‍याउने अठोट लिनुभएका चापागाईंका प्रमुख एजेन्डाहरूमध्ये समावेशी समाजको निर्माण अर्थात् अमेरिकामा आप्रवासीहरूलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने रहेको छ, । यस्तै, शिक्षा र स्वास्थ्यमा पहुँच अर्थात् राज्यका हरेक विद्यालयमा गुणस्तरीय र विश्वस्तरीय शिक्षा पुर्‍याउने एवम् निःशुल्क वा सुलभ रुपमा स्वास्थ्य सेवाको व्यवस्था गर्ने । यसैगरी, आर्थिक राहत अर्थात् बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्ने, जनताको क्रय क्षमता अभिवृद्धि गर्ने र करमा छुट तथा सहुलियत प्रदान गर्ने रहेका छन्। नेपाली मूलका व्यक्ति अमेरिकी राज्यस्तरको नीति निर्माण तहमा पुग्ने यो महत्त्वपूर्ण अवसर भएकाले पनि चापागाईंको उम्मेदवारीलाई विशेष चासोका साथ हेरिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट