वासिङ्टन डिसी,
पढ्न लाग्ने समय : १ मिनेट ५० सेकेन्ड,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको अर्को वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको सङ्केत गरेका छन् ।
ट्रम्पका अनुसार इरान २० वर्षभन्दा बढी समयसम्म आणविक हतियार नराख्न सहमत भएको छ । गत सप्ताहन्तमा पाकिस्तानको इस्लामाबादमा भएको वार्तामा तेहरानको आणविक महत्त्वाकाङ्क्षा नै मुख्य एजेन्डा बनेको थियो ।
ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब के हुन्छ हामी हेर्छौँ । तर मलाई लाग्छ हामी इरानसँग सम्झौता गर्ने एकदमै नजिक छौँ ।’ त्यसको केही घण्टापछि नेभाडाको लस भेगासमा आयोजित एक कार्यक्रममा उनले युद्ध ‘निकै चाँडै अन्त्य हुनुपर्ने’ बताए ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौँको ज्यान गइसकेको छ भने विश्वभर तेलको मूल्य अकासिएको छ । यसले अमेरिकी राष्ट्रपतिका लागि ठूलो राजनीतिक सङ्कट निम्त्याएको थियो । लेबनानको युद्धविरामले इरानसँगको बृहत् शान्ति सम्झौताको बाटो खुला गरेमा त्यो ट्रम्प प्रशासनका लागि ठूलो उपलब्धि हुनेछ । ट्रम्प प्रशासन हालसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज खुलाउन र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सङ्घर्षरत छ ।
बिहीबार मध्यरातमा युद्धविराम लागू हुँदा बेरुतका विभिन्न भागमा खुसियाली मनाउँदै हवाई फायर गरिएको थियो । तर यो शान्ति निकै कमजोर देखिएको छ । शुक्रबार बिहान लेबनानी सेनाले इजरायलले दक्षिण लेबनानका गाउँहरूमा गोलाबारी गरेर युद्धविरामको उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले एक्स मा पोस्ट गर्दै हिजबुल्लाहका लडाकुहरूको गतिविधिको जवाफमा सेना तैनाथ गरिएको दाबी गरे ।
हिजबुल्लाहले बिहीबार रातभर इजरायलविरुद्ध गरेका सैन्य कारबाहीको लामो विवरण सार्वजनिक गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहलाई युद्धविरामको सम्मान गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्त्वपूर्ण अवधिमा राम्रो व्यवहार गर्नेछ । यदि उनीहरूले त्यसो गरे भने त्यो उनीहरूका लागि ठूलो क्षण हुनेछ । अब थप हत्या हुनुहुँदैन । अन्ततः शान्ति हुनैपर्छ ट्रम्पले इरानसँग सम्झौता भएमा तेलको मूल्य, मुद्रास्फीति निकै तल झर्ने र आणविक सङ्कट टर्ने दाबी गरेका छन् । अमेरिका र इरानबिच गत साता भएको दुई साता लामो युद्धविराम लम्ब्याउनुपर्ने आवश्यकता नरहेको बताउँदै उनले तेहरान सम्झौता गर्न इच्छुक रहेको जिकिर गरे । करिब चार साताको बमबारी र शक्तिशाली नाकाबन्दीको परिणाम स्वरूप अहिले इरानसँग निकै राम्रो सम्बन्ध रहेको ट्रम्पको भनाइ छ ।


