वासिङ्टन डीसी।
पढ्न लाग्ने समय : १ मिनेट,
अमेरिकाले इरानलाई घुँडा टेकाउन ‘पश्चिम एसिया’ मा नयाँ रणनीतिक दबाब सिर्जना गरेको छ। ट्रेजरी सचिव स्कट बेसेन्टले इरानी तेल किन्ने मुलुकहरू, विशेष गरी चीनमाथि थप प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएका छन्।
चीनले इरानको ८० प्रतिशतभन्दा बढी तेल खरिद गर्दै आएकोमा अब अमेरिकी नाकाबन्दीका कारण त्यसमा पूर्ण विराम लाग्ने बेसेन्टको दाबी छ। उनले इरानले वित्तीय क्षेत्रमा पनि त्यस्तै क्षति व्यहोर्नुपर्ने बताए जस्तो क्षति अमेरिकी र इजरायली हवाई आक्रमणबाट उसको सैन्य संरचना र नेतृत्वले भोगेको छ।
अमेरिकाले यसअघि तेलको मूल्य नियन्त्रण गर्न दिएका कयौँ छुटहरू पनि अब नवीकरण नगर्ने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानसँग जारी युद्ध अन्त्यका लागि सम्झौता हुनेमा बुधबार आशा व्यक्त गरेको छ। फेब्रुअरीको अन्त्यतिर इजरायलसँग मिलेर सुरु गरिएको यो युद्ध अब लगभग अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी छ।
यद्यपि, अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दी र कडा आर्थिक प्रतिबन्धहरूलाई भने अझै खुकुलो पारेको छैन। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पाकिस्तानको मध्यस्थतामा भइरहेका कुराकानीहरू सकारात्मक र जारी रहेको बताउँदै छिट्टै सहमति हुनेमा विश्वास व्यक्त गरेकी छन्।


