काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनद्वारा प्रदान गरिने “बेष्ट बैंक अवार्ड २०२५” बाट सम्मानित भएको छ। शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा, क्रेडिट रेटिङ लगायतका मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल आइएमई बैंक सन् २०२५ का लागि “नेपालको उत्कृष्ट बैंक” को रूपमा चयन भएको हो।
यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित भएको हो। यसअघि पनि बैंकले सन् २०२४ मा सोही अवार्ड प्राप्त गरेको थियो।
बैंकका अध्यक्ष ढकालले उक्त सम्मानले बैंकलाई अझ उत्कृष्ट र नवप्रवर्तनशील सेवा प्रदान गर्न प्रेरणा मिलेको बताउँदै, यस उपलब्धिमा सहकार्य र विश्वास जनाउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकाय, सेयरधनी, कर्मचारी र सम्पूर्ण ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


