पर्वत । पर्वत जिल्लाका पशुपालक किसानलाई आत्मनिर्भर र व्यावसायिक बनाउनका लागि प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशु विकास तथा दूध उत्पादनमा किसानलाई प्रोत्साहन गर्न ८० लाख अनुदान वितरण गर्ने भएको छ ।
निमित्त केन्द्र प्रमुख तथा पशु विकास अधिकृत रामकृष्ण सुवेदीका अनुसार विभिन्न ६ प्रकारका कार्यक्रमका लागि उक्त अनुदान रकम उपलब्ध गराउने तयारी कार्यालयले गरिरहेको छ । आर्थिक वर्ष २०८२–०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार किसान, फार्म, कम्पनी, समूह, समिति वा सहकारी संस्थालाई उक्त अनुदान रकम उपलब्ध गराइनेछ ।
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाईभैँसी, भेडा, बाख्रा, बङ्गुर, माछा र कुखुरा पालिरहेका किसान वा फार्म दुईवटालाई अधिकतम ९० प्रतिशत अनुदान दिनेगरी २० लाख वितरण गरिने पशु विकास अधिकृत सुवेदीले बताए । किसान समूह, समिति वा सहकारीमार्फत प्राप्त गर्न सकिने अनुदान प्राप्त गर्नका लागि कम्तीमा ५० वटा माउ पालन गरिरहेको तथा कम्तीमा दैनिक दुई सय लिटर दूध उत्पादन गरिरहेको हुनुपर्नेछ ।
यदि भेडाबाख्रा पालेको भएमा दुई सय ५० वटा, बङ्गुर पालेको भएमा ५० वटा ब्रिडर माउ वा एक सय वटा फ्याटनर बङ्गुर, ग्रामीण कुखुराको हकमा कम्तीमा पाँच सय, हाँस भए तीन सयवटा तथा माछापालन भएमा कम्तीमा २० रोपनी क्षेत्रफल र रेन्बो ट्राउटका लागि कम्तीमा एक हजार वर्गमिटर क्षेत्रफलको जलाशय हुनुपर्ने शर्त राखिएको छ ।


