काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द, शिलाबहादुर मोक्तानको संगीत तथा संगीत संयोजन, र कुन्ती मोक्तानको स्वरमा तयार गरिएको भजन “खुशी” को म्युजिक भिडियो नमस्ते नेपाल डिजिटल स्टूडियो मार्फत सार्वजनिक गरिएको छ।
भजनमा मानिसहरूलाई साँचो खुशी पाउन आत्मचिन्तन आवश्यक रहेको सन्देश दिइएको छ। गीतमा खुशीको वास्तविक स्रोत भौतिक सुख नभई भगवानप्रतिको चिन्तन र आत्म–अनुशासन रहेको उल्लेख गरिएको छ। साथै, भगवानप्रति विश्वास गर्ने वा नगर्ने दुवै किसिमका व्यक्तिहरूले पनि आत्मचिन्तनबाट आन्तरिक शान्ति र खुशी प्राप्त गर्न सक्ने भाव प्रस्तुत गरिएको छ। गीतमा देखाइएको सन्देशअनुसार, आजको भौतिकवादी युगमा मानिसले धन र सुविधाबाट बाह्य सुख त पाएको भए पनि मनको शान्ति र सन्तोष प्राप्त गर्न नसकेको उल्लेख छ। त्यसैले, भौतिक र आध्यात्मिक पक्षबीच सन्तुलन कायम राख्नुपर्ने विचार गीतको मूल भाव रहेको छ।
सन्देशमूलक उक्त भजनमा अर्जुन कटुवाल र अमिसा खतिवडाको मुख्य अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी सन्तोष मगर र ईश्वर राईले गरेका छन् भने दृश्य सम्पादन सनम तामाङले गरेका हुन्।
गीतकार खतिवडाका यसअघि पनि ‘सम्झनाका पाइलाहरू’ र ‘बहार’ जस्ता गीति–कृति तथा ‘ढुकढुकी’ एल्बम प्रकाशित भइसकेका छन्। सार्वजनिक भएको “खुशी” म्युजिक भिडियोको निर्देशन स्वयम् गीतकार खतिवडाले गरेका हुन्।


