सुर्खेत । राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे। सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए।
शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाए। त्रास सिर्जना गर्ने युवकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाले जानकारी दिएका छन्।
पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका छन्। आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जङ्गलमा बस्दै आएका उनीहरुका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षा बढेकाे हाे। विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको उनीहरुको भनाइ छ।
कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रूपमा जीवन बिताउँदै आएका राउटे समुदाय माथि केही वर्ष अगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो।
राउटे समुदायका युवा दीपक शाही भन्छन्, ‘बाहिरबाट बिनाकाममा बस्तीभित्र आउने गर्दा आफूहरूलाई असहजता बनाएको छ । रातिमा बस्तीभित्र बाहिरका मानिस आउन थालेपछि झनै असुरक्षित हुन थालेको छ, हामीलाई सुरक्षा चाहियो। हिजोमात्र हाम्रो बस्तीमा रक्सी खाएर एक जना मान्छे आएर हल्ला गर्यो। अरु बेलामा पनि जथाभावी मानिसहरू आउँदा हामी त्रासमा छौँ।’
उनले दिउँसोको समयमा राउटे बस्तीमा आए पनि रातको समयमा मादक पदार्थ सेवन गरेर नआउन आग्रह गरे।


