काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिित बैठक आज देखि शुरु हुँदैछ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफु नेतृत्वको केन्द्रीय समितिलाई विघटन गदै मंसिरमा महाधिवेशन गर्ने गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गदैछन् । माओवादी पार्टीको आन्तरिक संगठनात्मक संरचनामै यो एक खालको आइसब्रेक हुँदैछ ।
जेन जी पुस्ताको आन्दोलनपछि राजनीतिक दलहरु नयाँ शिराबाट उठ्ने तयारी गरिरहेका बेला प्रचण्डले पार्टी केन्द्रीय समिति मात्र नभइ समग्र संरचना नै विघटन गरेर नयाँ शिराबाट पार्टी संगठन निर्माण गर्न लागेका हुन् । त्यसका लागि आज र भोलि दुई दिनसम्म माओवादीको केन्द्रीय समिति बैठकमा छलफल हुँदैछ ।
कांग्रेस र एमालेभित्र पार्टी बैठक समेत नेतृत्वले छलिरहेका बेला प्रचण्डले भने एक कदम अगाडी बढाएर समय सुहाँउदो पार्टी निर्माणका लागि नयाँ रणनीतिक ढंगले सबै पार्टी कमिटि भंगको प्रस्ताव गर्न लागेका हुन् । उनले आज राख्ने प्रस्तावमा पार्टी केन्द्रीय समिति सदस्यहरुलाई १२ वटा समुहमा विभाजन गरि छलफल गराउने र त्यसका आधारमा आउने रिपोर्ट र सुझावपछि पार्टीको महाधिवेशन मिति र स्थान तय गदैं केन्द्रीय समिति बैठक सक्ने माओवादीको तयारी छ ।
बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । प्रवक्ता अग्नि सापकोटाका अनुसार जेनजी युवा आन्दोलनपछि विकसित राजनीतिक परिस्थ्तििमा पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने लगायतका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिए ।
यो केन्द्रीय समिति धेरै अर्थमा बहुआयामिक हुनेछ, माओवादी प्रवक्ता सापकोटाले सफलखबरसँग भने, यसले माओवादी पार्टीको इतिहासमै नयाँ रणनीतिक अर्थ राख्ने निर्णय लिनेछ ।
केन्द्रीय समिति बैठक पछि माओवादी अध्यक्ष प्रचण्डकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बन्नेछ । पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफुलाई कार्यवाहक दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेको र उपमहासचिव जर्नादन शर्माले अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने र आफुहरुसहित नेताहरु पनि संरक्षक बसेर नयाँ ढंगको पार्टी निर्माण गर्नुपर्ने प्रस्ताव पनि माओवादीभित्र राखिरहेका छन् । तर आम नेता कार्यकर्ताले भने प्रचण्डले नै अहिलेको समस्याको निकास निकाल्न सक्ने र प्रचण्डकै नेतृत्वमापार्टी पूर्नगठन र रुपान्तरण गरेर जानुपर्ने मत राखिरहेका छन् ।


