काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिमाथि धावा बोलिएको टिप्पणी गरेका छन् ।
बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धि सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘अहिलेको वर्तमान परिस्थितिमा जुन जेनजीको प्रदर्शन भयो । यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ ।’
जेनजीको प्रदर्शनको क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विराटनगरको कोइराला निवास, बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम, ठमेलको चाक्सीबारीस्थित गणेशमान सिंह निवास लगायतका सरकारी तथा निजी सम्पत्तिमा आगजनी गरिएको भन्दै उनले यसको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे ।


