काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।
पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे।
सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र साङ्गठनिक सुधार देखिएको भन्दै अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्न आग्रह गरे।
पार्टीभित्र आत्मसमीक्षा र आलोचना आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने बताए। पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए।
पछिल्लो समय ‘प्रचण्ड’र उपमहासचिव जनार्दन शर्माबीच अन्तरसंघर्ष चलिरहेको छ। त्यसबारे बैठकमा प्रस्ट पार्दै भने, ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।’


