रास्वपा उम्मेदवार लेखजंग थापाको पत्रकार सम्मेलन किन भयो अचानक स्थगित ?

SHARE:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही ३ का लागि चयन गरेको उम्मेदवार डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगन गरेको छ।सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तय भएकोमा स्थगन भएको हो।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयका लागि सारिएको छ।रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म रूपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न विभिन्न प्रक्रिया गरेको थियो। उक्त प्रक्रियाबाट लेखजंग रास्वपा उम्मेदवार चयन भएका थिए।

रूपन्देही ३ मा रास्वपाबाट ९ जना उम्मेदवार आकांक्षी थिए। तीमध्ये लेखजंगलाई रास्वपाले आइतबार उम्मेदवार घोषणा गरेको थियो। तर लेखजंगले बहुविवाह गरेको सम्बन्धी विषय बाहिर आएपछि उनी विवादमा तानिएका थिए।

रूपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। आइतबार रास्वपाले लेखजंगलाई उम्मेदवार बनाएको घोषणा गरेको हो।लेखजंगले बहुविवाह गरेको भन्दै रास्वपा सचिवालय तहका केही नेताहरूले पार्टीमा कुरा उठाएका थिए। यो कुरा नख्खु कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई पनि जानकारी गराएका थिए।

रास्वपाका एक नेताका अनुसार रविले पनि लेखजंगसँग उनको बहुविवाहबारे सोधेका थिए। जबाफमा लेखजंगले आफ्नो एक श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको भनेको ती नेताले बताए।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले लेखजंगले दुइटा बिहे गरेको तर पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर मात्रै अर्को बिहे गरेको बताए। लेखजंगले सम्बन्ध विच्छेद कहिले गरेको भन्ने मिति भने कविन्द्रले बताउन सकेनन्।

‘उहाँको दोस्रो बिहे भएको रहेछ। तर पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेर मात्रै विवाह गर्नुभएको रहेछ। पहिलो पत्नीबाट जन्मिएको बच्चा लेखजंगजीसँगै रहेछ,’ उनले  भने। लेखजंगले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका हुन् या होइनन् भन्नेबारे यकिन भने छैन।

लेखजंगलाई नजिकबाट चिन्ने कतिपय डाक्टरहरूले उनी दुवै श्रीमतीसँग बस्दै आएको बताएका छन्। उनको सम्बन्ध विच्छेद पनि नभएको ती डाक्टरहरूले दाबी गरेका छन्।

एउटी श्रीमतीलाई डिभोर्स दिएर मात्र अर्को बिहे गरेको भन्ने महामन्त्री कविन्द्रको दाबीलाई लेखजंग स्वयंले पाँच वर्षअघि आफ्नै युट्युब च्यानलमा अपलोड गरेको भिडिओ र उनका श्रीमतीहरूले हालसालै बनाएका टिकटक भिडिओहरूले पुष्टि गर्दैनन्।

लेखजंगले पाँच वर्षअघि ‘सुपर थापा फ्यामिली’ भनेर युट्युबमा भिडिओ अपलोड गरेका छन्। सो भिडिओमा एकसाथ उनका जेठी र कान्छी श्रीमती देखिएका छन्।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट