अमेरिकामा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु 

SHARE:

भरतपुर, ३१ असार ।
अमेरिकाको लुइसियानामा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

आइतबार राति ९ बजेतिर संयुक्त राज्य अमेरिकाको राजमार्ग ८० मा कार दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको लुइसियाना स्टेट पुलिसले जनाएको छ ।

ज्यान गुमाउनेमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली छन् । उनीहरू दुबै जना लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी रहेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यादवले कार चलाइरहेका थिए । उनले कार चलाउँदा भारी वर्षा भइरहेको थियो ।

कार सडकको दायाँ पट्टी गएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको प्रहरीले जनाएको छ ।

यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।

उक्त कारमा अरू दुई जना पनि सवार थिए । उनीहरू दुबै जनाको उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट