पृथ्वी माविमा स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह

SHARE:

कालिका, ३० असार ।
चितवनको कालिका नगरपालिका-७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा रहेको पृथ्वी स्काउट ट्रूपको आयोजनामा `पृथ्वी स्काउट मनसुन क्याम्प तथा दीक्षान्त समारोह´ सम्पन्न भएको छ ।

कालिका ओपन स्काउट क्र्युको प्राविधिक सहयोग रहेको सो क्याम्प असार २७ र २८ गते सञ्चालन भएको हो ।

युवाहरूमा स्वअनुशासन, नेतृत्व विकास, आपसी भाइचारा र समाजसेवाको भावना विकास गराउने उद्देश्यले सो क्याम्प आयोजना गरिएको हो ।

क्याम्पमार्फत युवाहरुमा सेवा भावना, अनुशासन, आत्मनिर्भरता, सहकार्य, राष्ट्र प्रेम र प्रकृतिप्रेमको भावनाको विकास गराउनु पनि हो ।

कालिका नगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट कार्यालय कालिका नगरपालिका स्काउट प्रमुख विमला तामाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पृथ्वी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवम् कालिका नगर शिक्षा समिति सदस्य अमृत लामिछाने सभापतिको रुपमा रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथिको रुपमा कालिका वडा नम्बर ४ का अध्यक्ष मकरमान श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष कमलराज मोक्तान, विद्यालयका प्रधानाध्यापक तथा स्काउट संरक्षक सूर्यभक्त अधिकारी, नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक तथा रोभर लिडर सन्तोष बस्ताकोटी, रेन्जर लिडर सीता कार्की, परिषद् सदस्य विष्णुलाल श्रेष्ठ र राजु पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम अर्याललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले स्काउटिङको विकास बारे सिंगो नगरपालिका नै सकारात्मक रहेको भन्दै स्काउटहरुको गतिविधिले समाज रुपान्तरणमा महत्त्वपूर्ण भूमिका रहेकोमा प्रशंसा गर्नुभयो ।

नगरभित्रका जुनसुकै गतिविधिमा स्काउटलाई समावेश गर्दै समुदाय लक्षित कार्यक्रमहरु, विपद व्यवस्थापनलगायतका क्षेत्रहरुमा स्काउटहरुलाई आवश्यकता अनुसार तालिम गराउन नगरपालिका तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पृथ्वी स्काउट ट्रुपका ७८ जना व्वाइज गर्ल स्काउट्स र कालिका ओपन स्काउट क्र्युका १५ जना रोभर/रेन्जर दीक्षित भएका थिए ।

सो क्याम्पमा स्काउटरद्वय विशाल दराई र सपना श्रेष्ठले स्काउट विद्यार्थीहरुको दीक्षान्त गराउनुभएको थियो भने रोभर/रेन्जरतर्फ सहायक राष्ट्रिय प्रशिक्षक एवं रोभर लिडर सन्तोष बस्ताकोटी तथा रेन्जर तर्फ रेन्जर लिडर सीता कार्कीले दीक्षान्त गराउनुभएको थियो ।

कार्यक्रममा सहभागी स्काउटहरुमा व्यवहारिक ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले ग्याजेट निर्माण, रोपवर्क, स्काउट गेम, ग्रान्ड क्याम्पफायर, धर्म सभा जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो ।

ग्रान्ड क्याम्पफायरमा स्काउट विद्यार्थी तथा रोभर/रेन्जरहरुले उत्कृष्ट प्रस्तुति दिएका थिए ।

सो क्याम्पमा उत्कृष्ट रोभरबाट सन्दीप केसी र रेन्जरबाट विजिता चौधरी सम्मानित भएका थिए ।

कार्यक्रम कालिका ओपन स्काउट क्र्युका अध्यक्ष एवं पृथ्वी स्काउट ट्रुपका संयोजक स्काउटर सेवक अधिकारीले सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित शिर्षकहरु

ताजा अपडेट