काठमाडौं, ३० असार ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । विवादका कारण रोकिएको नीति तथा कार्यक्रम र बजेट आइतबार महानगरको १७औँ अधिवेशनमा पेस गरिएको हो । नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाहले प्रस्तुत गरे भने उपमेयर सुनीता डंगोलले बजेट पेस गरिन् ।
महानगरपालिकाले पेस गरेको बजेटका लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४१ लाख ४१ हजार जम्मा हुने जनाएको छ । अपुग ६५ करोड रुपैयाँ बाह्य व्ययभारबाट जुटाउने उल्लेख छ । महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ ।
त्यस्तै, प्रदेश सरकारबाट ससर्त, समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षमा उद्यमशील केन्द्र स्थापना गर्ने, सार्वजनिक पुस्तकालय तथा खुला सिकाइ केन्द्र निर्माण गर्ने, बालबालिकालाई पोषणयुक्त आहारको व्यवस्था गर्ने, आधारभूत स्वास्थ्य सेवालाई थप व्यवस्थित गर्नेलगायतका कार्यक्रम पेस गरेका थिए ।
पूर्वाधार र आर्थिक–सामाजिक क्षेत्रमा धेरै बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ ५१ प्रतिशत (१२ अर्ब ८० करोड ८३ लाख १४ हजार), आर्थिक विकासमा ७५ करोड ३४ लाख ३० हजार, सामाजिक विकासमा २० प्रतिशत (पाँच अर्ब दुई करोड २८ लाख ६८ हजार), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत (तीन अर्ब एक करोड ३७ लाख २१ हजार) र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत (तीन अर्ब ५१ करोड ६० लाख आठ हजार) रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


